शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सिन्धुली ट्राफिकको कडाइः कारबाही बढ्दा दुर्घटना घट्दै

मंगलवार , बैशाख १, २०८३

सिन्धुली,०१ बैशाख – जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीले चैत महिनामा ट्राफिक व्यवस्थापन, कारबाही तथा जनचेतनामूलक कार्यक्रमहरूलाई तीव्रता दिँदै उल्लेखनीय प्रगति हासिल गरेको जनाएको छ । चैत महिनामा २४ घण्टे पूर्जी जारी संख्या ९८८ पुगेको छ भने कुल ९७० वटा कारबाहीमार्फत ९ लाख ६३ हजार ५ सय रुपैयाँ राजश्व संकलन गरिएको ट्राफिक प्रहरी कार्यालय सिन्धुलीका प्रमुख, मोहम्मद कलीम अन्जुमले जानकारी दिएका छन ।

मादक पदार्थ सेवन (मा.प.से.) सम्बन्धी कारबाहीतर्फ १७ जनामाथि कारबाही गरिएको छ, जसबाट १० हजार रुपैयाँ राजश्व उठाइएको छ । साथै, सोही अवधिमा ४ वटा सवारी दुर्घटना भएको तथ्यांक सार्वजनिक गरिएको छ, जसमा १ जनाको ज्यान गएको छ भने १५ जना घाइते भएका छन्। दुर्घटना न्यूनीकरणका लागि कार्यालयले ४१० वटा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरी ३९ हजार ८७५ जनालाई लाभान्वित गराएको जनाएको छ ।
चैत महिनामा खुर्कोट र भिमान क्षेत्रमा दुई स्थानमा लागूऔषध परीक्षण (ला.प.से.) चेकजाँच सञ्चालन गरिएको थियो। उक्त अभियानअन्तर्गत १०१ जना चालकको परीक्षण गर्दा ५ जनामा पोजेटिभ नतिजा देखिएको कार्यालयले जनाएको छ ।

यसअघि फागुन महिनामा ७४४ वटा कारबाहीमार्फत ७ लाख ३३ हजार रुपैयाँ राजश्व संकलन गरिएको थियो। सो अवधिमा मा.प.से. सम्बन्धी १६ वटा कारबाहीबाट १० हजार रुपैयाँ राजश्व उठाइएको थियो। फागुनमा १४ वटा सवारी दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको थियो भने ३७ जना घाइते भएका थिए । साथै, एक स्थानमा गरिएको ला.प.से. चेकजाँचमा ४२ जनाको परीक्षण गर्दा २ जना पोजेटिभ देखिएका थिए ।

यसैबीच, जिल्ला ट्राफिक प्रहरी कार्यालयले एक सूचना जारी गर्दै विभिन्न मितिमा गरिएको सवारी चेकजाँचका क्रममा नियन्त्रणमा लिइएका सवारी चालक अनुमतिपत्र, सवारी दर्ता किताब लगायतका कागजातहरू फिर्ता लैजान सम्बन्धित पक्षलाई आग्रह गरेको छ। कार्यालयका अनुसार सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ अनुसार २४ घण्टे पूर्जी प्राप्त गरी तोकिएको समयभित्र जरिवाना नबुझाउने चालकहरूले सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र जरिवाना तिर्नुपर्नेछ ।

निर्धारित समयभित्र कागजात फिर्ता नलगेमा ऐनको दफा १६४ को उपदफा (५) बमोजिम त्यस्ता कागजात बढीमा एक महिनासम्म निलम्बन गरिने चेतावनी दिइएको छ। कार्यालयले कानुनी प्रक्रिया अघि बढाइने स्पष्ट गर्दै सम्बन्धित सबैलाई समयमै आवश्यक प्रक्रिया पूरा गर्न आग्रह गरेको छ।

ट्राफिक प्रहरी कार्यालय सिन्धुलीका प्रमुख, मोहम्मद कलीम अन्जुमले ट्राफिक अनुशासन पालनामा सबै सरोकारवालाको सहकार्य अपरिहार्य रहेको उल्लेख गरेका छन् ।

प्रतिक्रिया