शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सिन्धुलीमा बिद्युत प्राधिकरणको कमजोर सेवा, संरचना र व्यवस्थापन

मंगलवार , बैशाख १, २०८३


सिन्धुली,०१ बैशाख– देशभर ‘लोडसेडिङ अन्त्य’ को सफलता सुनाइँदै गर्दा जिल्लास्तरमा भने समस्या यथावत् देखिन्छन् । नेपाल विद्युत प्राधिकरण अन्तर्गत सिन्धुली वितरण केन्द्रमा प्राविधिक जनशक्तिको अभाव, कमजोर पूर्वाधार र व्यवस्थापन कमजोरीका कारण सेवा प्रवाह प्रभावित हुने गरेको छ ।

सिन्धुलीका विभिन्न पालिकामा गरिएको स्थलगत अध्ययन र उपभोक्तासँगको कुराकानीले विद्युत् आपूर्ति अझै भरपर्दो नभएको देखाउँछ । विशेषगरी ग्रामीण क्षेत्रमा पटक–पटक लाइन जाने, भोल्टेज घटबढ हुने र मर्मतमा ढिलाइ हुने समस्या व्यापक रूपमा रहेको गोलन्जोर गाउँपालिका–१ का वडा अध्यक्ष सोम प्रसाद बरालले बताए । 

सबैभन्दा ठूलो समस्या प्राविधिक जनशक्तिको अभाव हो । स्वीकृत दरबन्दी अनुसार इञ्जिनियर, प्राविधिक र लाइनम्यान पर्याप्त छैनन् । कतिपय स्थानमा थोरै कर्मचारीले ठूलो क्षेत्र सम्हाल्नुपर्ने अवस्था छ, जसका कारण लाइन बिग्रँदा मर्मतमा ढिलाइ हुने र उपभोक्ताले घण्टौँसम्म विद्युत् नपाउने अवस्था सिर्जना हुने गरेको छ ।

कुल ८५ जनाको दरबन्दी रहेको सिन्धुली बितरण केन्द्रमा हाल ५१ जना मात्र कर्मचारी उपलब्ध रहेको र अन्य आबश्यक कर्मचारी करार, ज्यालादारी र गोटागन्तीमा राखेर परिचालन गरिएको बितरण केन्द्रका सुचना अधिकारी इन्जिनियर शत्रुधन शाहले बताउनुभयो । 
बिधुत बिस्तारको पूर्वाधारको अवस्था पनि दयनीय छ । वीपी,मध्यपहाडी राजमार्ग आसपासका बस्तीमा पुराना पोल, झुन्डिएका तार र क्षमता कम भएका ट्रान्सफर्मर अझै प्रयोग भइरहेका छन् । वर्षायाममा हावाहुरी र वर्षाका कारण लाइन पटक–पटक ट्रिप हुने समस्या बढ्दो छ । यसले घरायसी उपकरणमा क्षति पु¥याउने गुनासो समेत बढाएको छ ।

ट्रान्सफर्मर खरिद र जडानमा अनियमितता भएको आरोप पनि उठ्ने गरेका छन । ठेकेदारहरूले आवश्यक क्षमताभन्दा कम क्षमताको उपकरण जडान गरिएको र मर्मतयोग्य सामानलाई नयाँ देखाएर खर्च देखाउने गरेको आवाज समेत उठ्ने गरेको छ । 

महसुल संकलन र चुहावट नियन्त्रणमा पनि चुनौती देखिएको छ । ग्रामीण क्षेत्रमा हुकिङ प्रचलन अझै कायम छ भने बक्यौता उठाउन प्राधिकरण प्रभावकारी देखिएको छैन। राजनीतिक दबाबका कारण कारबाही प्रक्रिया कमजोर हुने गरेको आरोप छ । सरकारी निकायहरूबाटै समयमै महशुल भुक्तानी नहुँदा बक्यौता रकमको ग्राफ बढ्दै गएको छ । 

बितरण केन्द्रको उपभोक्ता सेवा पनि कमजोर देखिन्छ । विद्युत् अवरुद्ध हुँदा जानकारी पाउन कठिन हुने, फोन नउठ्ने र गुनासो समाधान ढिलो हुने समस्या उपभोक्ताले  भोगिरहेको ग्राहकहरूको सर्वाधिक गुनासो सुनिन्छ । 

सिन्धुलीमा विद्युत् सेवा सुधारका लागि प्राविधिक जनशक्ति पूर्ति, पूर्वाधार आधुनिकीकरण, पारदर्शी खरिद प्रक्रिया र कडा अनुगमन आवश्यक देखिन्छ । अन्यथा, ‘उज्यालो नेपाल को नारा व्यवहारमा उतार्न अझै चुनौतीपूर्ण रहने देखिन्छ ।

नेपाल विद्युत् प्राधिकरणले विगतमा ठूला उपलब्धि हासिल गरे पनि दीर्घकालीन रूपमा दिगो, भरपर्दो र गुणस्तरीय विद्युत् सेवा दिन संरचनागत समस्या समाधान गर्नुपर्ने देखिन्छ । 

संस्थागत र ब्यक्तिगत सहित झण्डै ६३ हजार ग्राहक संख्या रहेको सिन्धुली बितरण केन्द्रले व्यापार सँगै गुणस्तरिय ग्राहक सेवालाई पहिलो प्राथामिकतामा राख्नु पर्ने उपभोक्ताहरूको माग रहेको छ ।

प्रतिक्रिया