सिन्धुली,३० चैत – राजधानी काठमाडौँलाई पूर्वी तराईसँग जोड्ने छोटो दूरीका रूपमा रहेको वीपी राजमार्गमा आकस्मिक सूचना प्रणाली (इआइएस) बोर्डमा दश वर्षदेखि आवश्यक सूचना अद्यावधिक गरिएको छैन ।
राजमार्गको धुलिखेल–सिन्धुली–बर्दिबास सडकखण्डमा तात्कालीक अवस्थाबारे जानकारी दिने उद्देश्यले काठमाण्डौंको कोटेश्वर, काभ्रेपलाञ्चोकको धुलिखेल, सिन्धुलीको खुर्काेट,सिन्धुलीमाढीबजार, महोत्तरीको बर्दिबाससम्म पाँच स्थानमा डिजिटल सूचना बोर्ड राखिएको थियो ।
जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को सहयोगमा स्थापना गरिएको उक्त प्रणालीको उद्देश्य थियो—सडकको अवस्था, पहिरो, बाढी, वर्षा तथा दुर्घटनाको रियल–टाइम सूचना यात्रुसम्म पु¥याउने । तर, प्रणाली सञ्चालनमा ल्याएको केही वर्षमै निष्क्रिय बन्दै गएको इआइएसअहिले पूर्ण रूपमा बन्द जस्तै अवस्थामा पुगेको छ ।
बिपि राजमार्ग निर्माणकर्ता जाइकाले सडकसँगै उक्त प्राणालीको विकास गरेको तर केही समयपश्चात् उक्त प्रविधिलाई जनशक्ति अभाव तथा अन्य प्राविधिक समस्याका कारण निरन्तरता दिन नसकिएको सडक बिभागले जनाएको छ ।
सडक बिभागका आइटी इन्जीनियर सुप्रितमराज श्रेष्ठले बिभागले नितिगत र प्राबिधिक रूपमा रहेका समस्यालाई हल गर्दै सञ्चालनमा ल्याउने प्रयत्न गरेको भएपनि कहिले र कसरी सञ्चालनमा आउँछ भन्ने अवस्था अन्यौलमै रहेको बताए ।
यस प्रणालीअन्तर्गत चारवटा केन्द्रमा स्थापना भएका ‘अटोमेटिक रेनफेल अब्जर्भेसन सिष्टम’ले निरन्तर रूपमा बर्षातको मापन गरेर सडक विभाग स्थित डाटा सेन्टरमा सूचना पठाउँने । यस्तो केन्द्र काठमाडौँ थापाथलीस्थित उपआयोजना कार्यालय, भक्तपुर र बर्दिबासस्थित सडक विभागका कार्यालयहरू र सिन्धुलीमा रहने व्यवस्था गरिएको आयोजनाले जनाएको थियो ।
सो प्रणालीअन्तर्गत डाटा सेन्टरमा निरन्तर आउने प्रकोपका विवरणहरू जिपिआरएस मोडेममार्फत मोबाइल, वेबसाइट र सडक सूचना बोर्डमा आफैँ अपडेट हुन्छ ।
यी विवरणहरू एलइडी डिस्प्लेयुक्त बोर्डहरूमा नेपाली र अग्रेजी दुवै भाषामा उपलब्ध हुने डिजाइन गरिएको थियो । चौबिसै घण्टा विवरण अपडेटमा लोडसेडिङले समस्या हुनसक्ने जनाउँदै सबै केन्द्रमा सौर्यशक्ति (सोलार) मार्फत विद्युत् आपूर्ति हुने व्यवस्थासमेत मिलाइएको थियो ।
यस्तै राजमार्गमा वर्षा, बाढी–पहिरो जस्ता प्राकृतिक प्रकोप तथा सडक दुर्घटनाबारे तत्काल मोबाइल, वेबसाइटमा जानकारी आउने व्यवस्था मिलाइने योजना बनाइएको थियो ।
यही जानकारी राजमार्गको वेबसाइट तथा कोटेश्वर, धुलिखेल, खुर्कोट, सिन्धुली र बर्दिबासमा रहेको डिजिटल सूचना बोर्डमा समेत हेर्न सकिने प्रविधि जडान गर्ने आयोजनाको लक्ष्य थियो ।
राजमार्गको अवस्थाबारे मोबाइल तथा वेबसाइटमा जानकारी लिनसक्ने गरी दश वर्षअघि उक्त प्रविधि जडान गर्न सडकखण्डको विभिन्न स्थानमा सूचना प्रविधिका भौतिक पूर्वाधार लगायत संरचना निर्माण तथा व्यवस्थापन गरिएको हो ।
यस्तै वेबसाइट र सडकमा रहेका इलेक्ट्रिकल बोर्डका सूचना हेरेर पनि यात्रा तय गर्न सकिने योजनासमेत बनाइएको थियो । त्यसबेला राजमार्ग सञ्चालन तथा मर्मत–सम्भारका लागि स्थापित उपआयोजनाले यस्तो प्रणालीको विकास गरेको हो ।
यो वर्ष पनि मनसुन निकै सक्रिय भइरहेको छ । यस्तो प्रणालीले राजमार्गको अवस्था तथा आकस्मिक घटनामा तत्काल उद्धार गर्न सकिने संयन्त्र निर्माण गर्न सकिने अपेक्षा गरिएको थियो । स्मार्ट राजमार्ग’ को परिकल्पनासहित ल्याइएको इआईएस अहिले नीतिगत कमजोरी र व्यवस्थापन अभावले थलिएको छ ।
भौतिक सडक मर्मतसँगै डिजिटल सुरक्षा प्रणाली पुनः सञ्चालनमा ल्याउन नसकिए, बिपि राजमार्गमा यात्रा अझै जोखिमपूर्ण नै रहने निश्चित छ ।
करोडौ लगानीको परियोजना प्रयोग बिहिन बन्दा यसको प्रत्यक्ष असर यात्रु र सवारी चालकमा परेको छ। पछिल्ला वर्षहरूमा वर्षायाममा पहिरो र बाढीका कारण सडक पटक–पटक अवरुद्ध हुने,रोशी, सुनकोशी लगायत नदीमा पानी बढ्दा यात्रा अनिश्चित हुने, वैकल्पिक सूचना प्रणाली नहुँदा यात्रु अनुमानका भरमा यात्रा गर्न बाध्य हुने जस्ता समस्याले सबैपक्षलाई प्रभावित गरिरहेको छ ।