सिन्धुली,२८ चैत— जिल्ला प्रहरी कार्यालय सिन्धुलीले लागूऔषध नियन्त्रण अभियानअन्तर्गत भिमान क्षेत्रमा गरिएको विशेष चेकजाँचका क्रममा एक युवकलाई खैरो हेरोइनसहित नियन्त्रणमा लिएको जनाएको छ ।
प्रहरीका अनुसार शनिवार अपराह्न करिब ३ बजेर ३५ मिनेटको समयमा इलाका प्रहरी कार्यालय भिमानबाट प्रहरी निरीक्षक राजु के.सी. खत्रीको कमाण्डमा खटिएको टोली, लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय बर्दीबास तथा प्रदेश प्रहरी कार्यालय हेटौंडाबाट परिचालित तालिमप्राप्त ‘जुनु’ नामक ड्रग ट्रयाकर कुकुरसहितको संयुक्त १५ सदस्यीय प्रहरी टोलीले चेकपोस्टमा सवारी साधनहरूमा निगरानी बढाएको थियो ।
सोही क्रममा काकरभिट्टाबाट काठमाडौंतर्फ गइरहेको प्रदेश ३–०१–००५ ख ९६६० नम्बरको हायस गाडीमा सवार यात्रुहरूको जाँच गर्ने क्रममा झापा जिल्ला मेचीनगर नगरपालिका–२ निवासी अन्दाजी २४ वर्षीय निकास आलेमाथि शंका उत्पन्न भएपछि सूक्ष्म जाँच गरिएको प्रहरीले जनाएको छ ।
जाँचका क्रममा उनले लगाएको कालो जिन्स ज्याकेटको दाहिने खल्तीभित्र लुकाइछिपाइ राखिएको सेतो प्लास्टिकको प्याकेट बरामद गरिएको थियो । उक्त प्याकेटभित्र थप प्लास्टिकले बेरिएको अवस्थामा खैरो हेरोइन जस्तो देखिने गिलो पदार्थ ३३ ग्राम ८७० मिलिग्राम (प्लास्टिक बाहेक) फेला परेको प्रहरीको भनाइ छ ।
बरामद गरिएको पदार्थको रितपूर्वक मुचुल्का तयार गरी नियन्त्रणमा लिइएको छ भने अभियुक्तलाई आवश्यक अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएको छ । यस सम्बन्धमा थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरीक्षक बिमल खतिवडाले जानकारी दिएका छन् ।
प्रहरीले पछिल्लो समय लागूऔषध ओसारपसार नियन्त्रणलाई प्राथमिकतामा राख्दै चेकजाँचलाई कडाइ गरेको र यस्ता गतिविधि विरुद्ध निगरानी अझ सशक्त बनाइने जनाएको छ।