सिन्धुली,२८ चैत — लागुऔषध नियन्त्रण अभियानलाई तीव्रता दिँदै आएको सिन्धुली प्रहरीले hसिन्धुलीको भिमान क्षेत्रमा सञ्चालन गरेको विशेष चेकिङ अभियानमा शनिवार दिउसो १२ः१० वजे दुई जना व्यक्तिबाट खैरो हेरोइन जस्तो देखिने पदार्थ बरामद गरेको छ । ड्रग–ट्रयाकर कुकुरको प्रयोगसहित गरिएको संयुक्त कारबाहीमा उक्त सफलता हात परेको हो ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार ईलाका प्रहरी कार्यालय भिमानबाट प्रहरी निरीक्षक राजु के.सी. खत्रीको कमाण्डमा खटिएको टोली, लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय बर्दिबास तथा बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाको केनाइन शाखाबाट परिचालित तालिमप्राप्त कुकुर ‘जुनु’ सहितको १५ सदस्यीय संयुक्त प्रहरी टोलीले बी.पी. राजमार्गअन्तर्गत कमलामाई नगरपालिका–९ भिमान क्षेत्रमा सवारी साधन चेकजाँच गरेको थियो ।
चेकजाँचका क्रममा लाहानबाट काठमाडौँतर्फ जाँदै गरेको मधेश प्रदेश ०१–००१ ख ०६२८ नम्बरको हायस गाडीमा सवार सिराहा जिल्लाको वरियारपट्टी गाउँपालिका–४ निवासी २४ वर्षीय उदित नारायण राय अमातको साथबाट लागुऔषध बरामद गरिएको प्रहरीले जनाएको छ । उनले बोकेको कालो झोलाभित्र सेतो प्लास्टिकमा प्याक गरिएको तथा रातो प्लास्टिकका स–साना टुक्रामा विभाजन गरी लुकाइछिपाइ ल्याइएको करिब ०.५३० ग्राम खैरो हेरोइन जस्तो देखिने गिलो पदार्थ फेला परेको हो ।
यसैगरी, इटहरीबाट काठमाडौँतर्फ जाँदै गरेको बा.प्र.०१–००२ ज ७५९९ नम्बरको ट्याक्सीमा सवार मोरङ जिल्लाको बेलबारी नगरपालिका–१० निवासी ३७ वर्षीय पदमबहादुर जोगीबाट पनि लागुऔषध बरामद गरिएको छ । उनले लगाएको आर्मी रंगको ज्याकेटको दाहिने खल्तीभित्र हरियो र कालो प्लास्टिकमा बेरिएको अवस्थामा तीन वटा पोका बनाइ लुकाइएको करिब १२.६०० ग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थ प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
बरामद गरिएका दुवै घटनामा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिई आवश्यक कानुनी प्रक्रिया पूरा गर्दै रीतपूर्वक मुचुल्का तयार गरिएको र थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरीक्षक बिमल खतिवडाले जानकारी दिए ।
प्रहरीले पछिल्लो समय राजमार्ग क्षेत्रमा लागुऔषध ओसारपसार नियन्त्रणका लागि प्रविधि र तालिमप्राप्त कुकुरको प्रयोगलाई प्रभावकारी बनाउँदै आएको छ । यस किसिमका अभियानले लागुऔषध विरुद्धको कारबाहीलाई थप सशक्त बनाउने विश्वास गरिएको छ ।