सिन्धुली,२८ चैत – जिल्लाको शैक्षिक इतिहासमा महत्वपूर्ण स्थान ओगटेको श्री कमला माध्यमिक विद्यालय, ढुंग्रेबासले आफ्नो स्थापना भएको ७५औँ वर्ष (हीरक वर्ष) को अवसरमा पूर्वविद्यार्थीहरूको पहिलो बृहत् भेला आयोजना गरेको छ ।
शनिवार आयोजित पूर्वविद्यार्थीहरूको बृहत् भेला कार्यक्रममा कमला पूर्व विद्यार्थी समाजको तर्फबाट बोल्दै सिन्धुली क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य आशिष गजुरेलले विद्यालयसँगको आफ्नो गहिरो भावनात्मक सम्बन्ध स्मरण गरेका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै उनले उक्त विद्यालयलाई केवल औपचारिक शिक्षा दिने थलोका रूपमा नभई व्यक्तित्व निर्माणको आधारशिला तयार पार्ने महत्वपूर्ण संस्थाका रूपमा व्याख्या गरे ।
गजुरेलले विद्यालयले प्रदान गरेको शिक्षाले विद्यार्थीहरूलाई केवल ज्ञान आर्जनमा सीमित नराखी अनुशासन, नैतिक मूल्य र सामाजिक उत्तरदायित्वको भावना समेत विकास गराएको उल्लेख गरे । “हामी समयसँगै आ–आफ्नो पेशा र क्षेत्रमा अघि बढिरहेका छौं, तर हाम्रो मूल पहिचान र जरा सधैं यही विद्यालयसँग गाँसिएको छ,” उनले भने । उनका अनुसार विद्यालयबाट प्राप्त संस्कार र मूल्यले नै जीवनका विविध चरणहरूमा मार्गदर्शन गरेको छ ।
उनले वर्तमान सन्दर्भमा यस्ता पुनर्मिलन कार्यक्रमहरूको महत्व झनै बढ्दै गएको औंल्याउँदै यसलाई केवल भेटघाटको अवसरमा सीमित नराखी साझा पहिचान सुदृढ गर्ने, अनुभव आदान–प्रदान गर्ने र भविष्यका सम्भावनाहरूको खोजी गर्ने प्रभावकारी मञ्चका रूपमा उपयोग गर्नुपर्ने धारणा राखे । पूर्वविद्यार्थीहरूको आपसी सहकार्य र नेटवर्कले विद्यालयको समग्र विकासमा समेत सकारात्मक प्रभाव पार्न सक्ने उनको भनाइ थियो ।
गजुरेलले विद्यालयको भौतिक तथा शैक्षिक विकासमा निरन्तर योगदान दिने प्रतिबद्धता व्यक्त गरे । उनले वर्तमान विद्यार्थीहरूको क्षमता अभिवृद्धि, आधुनिक शैक्षिक वातावरण निर्माण तथा गुणस्तरीय शिक्षाको प्रवद्र्धनका लागि पूर्वविद्यार्थीहरू एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिए ।
उनले पुनर्मिलनको सफल आयोजनाका लागि आयोजक समिति तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा संलग्न सबैप्रति आभार प्रकट गरे। साथै, यस्ता सिर्जनात्मक तथा सकारात्मक पहलहरूले आगामी दिनमा पनि निरन्तरता पाउँदै जाओस् भन्ने शुभेच्छा व्यक्त गर्दै उनले पूर्वविद्यार्थीहरूको सक्रिय सहभागिताले विद्यालयलाई अझ उन्नत र उदाहरणीय संस्थाका रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।