सिन्धुली,२७ चैत — वी.पी. राजमार्ग अन्तर्गत सिन्धुलीको भिमानमा गरिएको संयुक्त प्रहरी चेकिङका क्रममा लागुऔषधसहित दुई जना व्यक्तिलाई नियन्त्रणमा लिइएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार इलाका प्रहरी कार्यालय भिमान, लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबास तथा बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडास्थित केनाइन शाखाबाट खटिएको संयुक्त टोलीले विशेष अभियान सञ्चालन गरेको थियो ।
प्रहरी निरीक्षक राजु के.सी. खत्रीको कमाण्डमा खटिएको करिब १५ सदस्यीय टोलीले शुक्रबार बिहान करिब १० बजे कमलामाई नगरपालिका–९ भिमानस्थित बिपी राजमार्ग खण्डमा सवारी साधनहरूको सघन जाँच गरेको थियो । सो क्रममा तालिम प्राप्त ड्रग–ट्रयाकर कुकुर ‘जुनु’ को सहायतामा यात्रु तथा उनीहरूले बोकेका सामानहरूको सूक्ष्म परीक्षण गरिएको प्रहरीले जनाएको छ ।
जाँचका क्रममा धरानबाट काठमाडौंतर्फ जाँदै गरेको बा.२ ख ७१२६ नम्बरको हायसमा सवार सुनसरीको धरान उपमहानगरपालिका–५ निवासी २४ वर्षीय उज्ज्वल कार्कीको साथबाट विभिन्न प्रकारका लागुऔषध बरामद गरिएको छ । प्रहरीले उनको झोलाभित्र लुकाएर राखिएको सेतो प्लास्टिकबाट स्पासटेन –४३ र ट्रामाडोल–४३ नामका ट्याब्लेटहरू फेला पारेको छ । साथै उनले लगाएको जिन्स पाइन्टको अगाडिको खल्तीमा रातो प्लास्टिक टुक्रामा ७ ओटा पोका पारेर लुकाइएको खैरो हेरोइनजस्तो देखिने गिलो पदार्थ ०.३२४ ग्राम समेत बरामद भएको प्रहरीले जनाएको छ ।
त्यसैगरी, अर्को सवारी साधन धरानबाट काठमाडौं तर्फ जाँदै गरेका बा.३ ख ७७९५ नम्बरको हायसमा सवार कैलालीको धनगढी उपमहानगरपालिका–१ निवासी ३१ वर्षीय मीनकुमार चौधरीको साथबाट पनि लागुऔषध फेला परेको छ । उनको झोलाभित्र रहेको जिन्स पाइन्टको अगाडिको खल्तीमा कालो प्लास्टिकमा बेरी लुकाइएको खैरो हेरोइनजस्तो देखिने पदार्थ ३.१५० ग्राम बरामद गरिएको प्रहरीले जनाएको छ ।
दुवै व्यक्तिलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरीक्षक बिमल खतिवडाले जानकारी दिए । उनले लागुऔषध ओसारपसार तथा प्रयोग नियन्त्रणका लागि प्रहरीले नियमित रूपमा विशेष निगरानी तथा चेकिङ अभियान सञ्चालन गरिरहेको पनि बताए ।
प्रहरीका अनुसार राजमार्ग क्षेत्रमा बढ्दो लागुऔषध कारोबार नियन्त्रण गर्न यस्ता संयुक्त अभियानलाई थप सशक्त बनाइने छ ।