सिन्धुली, २७ चैत —— हराएको मोटरसाइकल सात महिनापछि फेला पारेर ट्राफिक प्रहरीले सम्बन्धित धनीलाई जिम्मा लगाएको छ । नियमित सवारी जाँचका क्रममा फेला परेको उक्त मोटरसाइकल आवश्यक अनुसन्धानपछि वास्तविक धनीसम्म पु¥याइएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीका अनुसार कमलामाई नगरपालिका–६ धुराबजारस्थित मदन भण्डारी राजमार्गमा गरिएको नियमित चेकजाँचका क्रममा बा ३–०२–०४२ प १००४ नम्बरको १५० सीसी क्षमताको कालो पल्सर मोटरसाइकल शंकास्पद अवस्थामा भेटिएको थियो । ट्राफिक प्रहरी टोलीले उक्त मोटरसाइकल रोकेर कागजपत्र माग गर्दा चालकले आवश्यक कागजात आफूसँग नरहेको र ल्याएर देखाउने भन्दै त्यहाँबाट हिँडेको थियो ।
तर चालक दुई दिनसम्म सम्पर्कमा नआएपछि प्रहरीले मोटरसाइकलबारे थप अनुसन्धान अघि बढाएको थियो । अनुसन्धानका क्रममा उक्त मोटरसाइकल जेन्जी आन्दालनको दिन २०८२ साल भदौ २४ गते काठमाडौंस्थित सर्वोच्च अदालत न्याय परिषद्को पार्किङ क्षेत्रबाट हराएको पुष्टि भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
प्रहरीका अनुसार मोटरसाइकल सर्वोच्च अदालतमा कार्यरत कर्मचारी रोमन भट्टराईको रहेको खुलेपछि उनलाई सम्पर्क गरी जानकारी गराइएको थियो । त्यसपछि आवश्यक कागजी प्रक्रिया पूरा गरी शुक्रबार उक्त मोटरसाइकल भट्टराईलाई औपचारिक रूपमा बुझाइएको हो ।
मोटरसाइकल लामो समयपछि सुरक्षित रूपमा फिर्ता पाउँदा धनी भट्टराईले ट्राफिक प्रहरीप्रति आभार व्यक्त गरेका छन् । “हराएको सवारी साधन फिर्ता पाउने आशा लगभग टुटिसकेको थियो, तर प्रहरीले खोजी गरी फिर्ता दिलाउनु सराहनीय कार्य हो,” उनले प्रतिक्रिया दिए ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयले सवारी साधनको नियमित जाँच, कागजपत्र परीक्षण तथा शंकास्पद गतिविधिमाथि निगरानीका कारण यस्ता घटनामा सफलता मिलिरहेको जनाएको छ । कार्यालयका अनुसार सवारी साधन चोरीका घटनालाई नियन्त्रण गर्न र दुर्घटना न्यूनीकरण गर्न नियमित रूपमा सडक अनुगमनलाई तीव्रता दिइएको छ ।
यसैबीच, ट्राफिक प्रहरीले जिल्लाभर सवारी दुर्घटना न्यूनीकरण तथा ट्राफिक सचेतना अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ । सडक प्रयोगकर्तालाई ट्राफिक नियम पालनामा सचेत गराउने, सवारी साधनको प्राविधिक अवस्था जाँच्ने तथा कागजपत्र अनिवार्य रूपमा साथमा राख्न आग्रह गर्ने कार्यलाई निरन्तरता दिइएको छ ।
ट्राफिक प्रहरीले सवारी साधन प्रयोग गर्दा अनिवार्य रूपमा आवश्यक कागजात साथमा राख्न, ट्राफिक नियमको पालना गर्न तथा शंकास्पद गतिविधि देखिएमा नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन सर्वसाधारणलाई अनुरोध गरेको छ। साथै, सवारी चोरीका घटनामा समयमै उजुरी दिन पनि आग्रह गरिएको छ ।
प्रहरीका अनुसार यस्ता सक्रियता र जनचेतनाका कार्यक्रमले चोरी तथा दुर्घटनाका घटनामा कमी ल्याउन सहयोग पुग्ने विश्वास गरिएको छ ।