सिन्धुली,२७ चैत — कमलामाई नगरपालिकामा लैङ्गिक समानता प्रवद्र्धन तथा राष्ट्रिय–अन्तर्राष्ट्रिय कानुनी तथा नीतिगत व्यवस्थाबारे जानकारी अभिवृद्धि गर्ने उद्देश्यले अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । बिहीबार आयोजित उक्त कार्यक्रम नगर उपप्रमुख मञ्जु देवकोटाको अध्यक्षता तथा नगर प्रमुख उपेन्द्र कुमार पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।
कार्यक्रमको प्रारम्भमा महिला, बालबालिका तथा समाज कल्याण शाखा प्रमुख इन्दिरा कुमारी थापाले अभिमुखीकरणको उद्देश्य, आवश्यकता तथा अपेक्षित उपलब्धिबारे प्रकाश पार्दै लैङ्गिक समानता स्थापना गर्न स्थानीय तहको भूमिकालाई विशेष रूपमा जोड दिइन । उनले नीति तथा कानुनको प्रभावकारी कार्यान्वयनबाट मात्र वास्तविक समानता सुनिश्चित गर्न सकिने धारणा व्यक्त गरिन ।
कार्यक्रममा जिल्ला न्यायाधिवक्ता निमा घिमिरेले महिला विरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलन गर्ने महासन्धि १९७९ तथा संयुक्त राष्ट्र संघीय सुरक्षा परिषद्का प्रस्ताव नं. १३२५ र १८२० सम्बन्धमा विस्तृत प्रस्तुति दिइन । उनले ती अन्तर्राष्ट्रिय दस्तावेजहरूले महिलाको अधिकार संरक्षण, शान्ति प्रक्रियामा सहभागिता तथा लैङ्गिक न्याय सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरिन । साथै, ती प्रावधानहरूलाई स्थानीय तहसम्म प्रभावकारी रूपमा कार्यान्वयन गर्न आवश्यक रहेकोमा जोड दिइन ।
कार्यक्रमको सञ्चालन महिला, बालबालिका तथा समाज कल्याण शाखाकी कर्मचारी सावित्रा कुमारी रेग्मी देवकोटाले गरकी थिइन । उनको समन्वयमा कार्यक्रम सुव्यवस्थित र प्रभावकारी रूपमा सम्पन्न भएको सहभागीहरूले प्रतिक्रिया दिएका छन् ।
महिला, बालबालिका तथा समाज कल्याण शाखाको आयोजनामा सम्पन्न कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत किरण निधि तिवारी, जिल्ला न्यायाधिवक्ता निमा घिमिरे, वडा नं. १ देखि १४ सम्मका वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, विभिन्न शाखाका प्रमुख तथा कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । सहभागीहरूको सक्रिय सहभागिताले कार्यक्रमलाई अझ प्रभावकारी बनाएको आयोजकले जनाएको छ ।
समग्रमा, उक्त अभिमुखीकरण कार्यक्रमले लैङ्गिक समानता सम्बन्धी नीतिगत तथा कानुनी व्यवस्थाबारे सहभागीहरूलाई थप स्पष्टता प्रदान गर्नुका साथै स्थानीय तहमा यसको कार्यान्वयनलाई सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ । नगरपालिका स्तरमा यस्ता कार्यक्रमहरूले जनचेतना अभिवृद्धि गर्नुका साथै समावेशी र न्यायपूर्ण समाज निर्माणमा टेवा पु¥याउने अपेक्षा गरिएको छ ।