शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सिन्धुलीमा ६ केजी गाँजासहित एक जना पक्राउ

बिहिवार , चैत्र २६, २०८२

सिन्धुली,२६ चैत — मदन भण्डारी राजमार्ग अन्तर्गत दुधौली नगरपालिका–१० सिर्जनानगर क्षेत्रमा प्रहरीले नियमित सवारी चेकजाँचका क्रममा ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार बिहिवार दिउँसो करिब १२ः३० बजे सञ्चालन गरिएको चेकजाँच अभियानका क्रममा उक्त परिमाणको गाँजा बरामद गरिएको हो ।

प्रहरी चौकी दुधौलीबाट  खटिएको टोलीले बागमती प्रदेशबाट आएका तालिमप्राप्त लागूऔषध खोजी कुकुर ‘जुनु’ को सहयोगमा सवारी साधनहरूमा कडाइका साथ जाँच गरिरहेको थियो । सोही क्रममा दमकबाट काठमाडौँतर्फ जाँदै गरेको बा ५ ख ३१५४ नम्बरको हायस गाडीलाई रोकी चेकजाँच गरिएको प्रहरीले जनाएको छ ।

जाँचका क्रममा उक्त हायसको १० नम्बर सिटमा सवार उदयपुरको कटारी नगरपालिका–८ आहाले निवासी ३७ वर्षीय टेकबहादुर मगरले बोकेको कालो झोला शंका लागेपछि खोल्न लगाइएको थियो । झोलाभित्र लुकाइ राखिएको अवस्थामा शुद्ध तौल ६ केजी गाँजा फेला परेको प्रहरीले पुष्टि गरेको छ । त्यसपछि मगरलाई तत्काल नियन्त्रणमा लिई लागूऔषधसहित प्रहरी चौकी दुधौलीमा ल्याइएको छ ।

प्रहरीका अनुसार नियन्त्रणमा लिइएका मगरमाथि लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान प्रक्रिया अघि बढाइएको छ । घटनासँग सम्बन्धित अन्य पक्षबारे समेत अनुसन्धान भइरहेको जनाइएको छ । उक्त गाडीका चालक काभ्रे पनौती नगरपालिका–१२ निवासी ३९ वर्षीय नवराज राउतलाई आवश्यक सोधपुछ गरी गाडीका कागजपत्र नियन्त्रणमा राखिएको छ भने उनलाई गन्तव्यतर्फ पठाइएको प्रहरीले जनाएको छ ।

 पछिल्लो समय राजमार्ग क्षेत्रमा लागूऔषध ओसारपसार नियन्त्रणका लागि प्रहरीद्वारा कडाइका साथ चेकजाँच अभियान सञ्चालन हुँदै आएको छ । प्रहरीले लागूऔषध विरुद्धको अभियानलाई अझ सशक्त बनाउँदै यस्ता गतिविधिमा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउने प्रतिबद्धता जनाएको छ । साथै, नागरिकहरूलाई पनि शंकास्पद गतिविधि देखिएमा नजिकको प्रहरी निकायलाई जानकारी गराउन अनुरोध गरिएको छ ।

प्रतिक्रिया