शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सिन्धुलीका आधारभूत समस्या सदनमा गुञ्जियो

बिहिवार , चैत्र २६, २०८२

सिन्धुली,२६ चैत — सिन्धुली निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य धनेन्द्र कार्कीले आफ्नो क्षेत्रका जनताको दैनिक जीवनसँग गाँसिएका आधारभूत समस्याहरू प्रतिनिधि सभाको बैठकमा उठाउँदै सरकारको ध्यानाकर्षण गराएका छन् । बैठकको शून्य समयमा बोल्दै उनले स्वास्थ्य सेवा, कृषि बजार व्यवस्थापन र सडक पूर्वाधारका क्षेत्रमा देखिएका जटिलताहरू समाधान गर्न तीन बुँदे माग प्रस्तुत गरेका हुन् ।

सांसद कार्कीले सिन्धुलीमा स्वास्थ्य सेवा सहज र पहुँचयोग्य नहुँदा स्थानीय नागरिक सामान्य उपचारका लागि समेत बाहिरी जिल्लामा जानुपर्ने बाध्यता रहेको बताए । उनले दुधौली नगर अस्पताललाई तत्काल प्रादेशिक अस्पतालमा स्तरोन्नति गर्नुपर्ने आवश्यकता औंल्याउँदै सर्पदंश उपचारका लागि दक्ष जनशक्ति र आवश्यक पूर्वाधारसहितको सेवा सुनिश्चित गर्न सरकारसँग आग्रह गरे । उनका अनुसार ग्रामीण भेगका नागरिकहरू अझै पनि आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित रहनु चिन्ताजनक विषय हो ।

कृषि क्षेत्रको अवस्थाप्रति संकेत गर्दै उनले किसानहरूले उत्पादन गरेको उपजले उचित मूल्य नपाउँदा निराशा बढिरहेको उल्लेख गरे । बजार अभावका कारण कृषिजन्य उत्पादन खेर जाने समस्या गम्भीर बन्दै गएको भन्दै उनले कृषि एम्बुलेन्स सञ्चालन तथा चिस्यान केन्द्र स्थापना गरी किसानलाई बजारसँग प्रत्यक्ष जोड्नुपर्नेमा जोड दिए । यसले किसानको श्रमको उचित मूल्य सुनिश्चित हुने र कृषि क्षेत्रको व्यावसायीकरणमा टेवा पुग्ने उनको भनाइ थियो ।

सडक पूर्वाधारको कमजोर अवस्थालाई उनले विकासको प्रमुख अवरोधका रूपमा प्रस्तुत गरे । मुख्य सडकहरूको स्तरोन्नति तथा कालोपत्रे कार्यमा भइरहेको ढिलाइले स्थानीय बासिन्दालाई दैनिक आवतजावतमा कठिनाइ भएको मात्र नभई आर्थिक गतिविधिमा समेत असर परेको उनले बताए । वर्षैभरि सञ्चालनयोग्य सडक निर्माणलाई प्राथमिकतामा राख्दै समयमै सम्पन्न गर्नुपर्नेमा उनले सरकारलाई सचेत गराए ।

सांसद कार्कीले प्रस्तुत गरेका मागहरूलाई व्यक्तिगत नभई जनताको मौलिक अधिकारका रूपमा व्याख्या गर्दै सरकारलाई गम्भीरतापूर्वक लिन आग्रह गरेका छन् । सभामुखमार्फत उनले सम्बन्धित निकायलाई शीघ्र कार्यान्वयनतर्फ अग्रसर हुन र नागरिकका आधारभूत आवश्यकता पूरा गर्न प्रभावकारी कदम चाल्न अनुरोध गरेका छन् ।

प्रतिक्रिया