सिन्धुली,२५ चैत — कमलामाई नगरपालिकाले सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचनाविरुद्ध कडा कदम चाल्ने निर्णय गरेको छ । बुधबार सम्पन्न नगर कार्यपालिकाको बैठकले नगर क्षेत्रभित्र अनधिकृत रूपमा निर्माण भएका संरचना हटाउन ३५ दिने सार्वजनिक सूचना जारी गर्ने निर्णय गरेको हो ।
नगरपालिकाका अनुसार वडा नम्बर ६ स्थित नगर कार्यपालिकाको भवनको पूर्वपट्टि रहेको स्टल बजारसहित विभिन्न स्थानमा सार्वजनिक सम्पत्तिमाथि अतिक्रमण गरी बनाइएका संरचना हटाउने तयारी गरिएको छ । विशेषगरी २०७२ सालको महाभूकम्पपछि रातो स्टिकर प्राप्त गरी जोखिमयुक्त घोषित सार्वजनिक भवनहरूमा समेत पुनः अनधिकृत निर्माण भएका कारण नगरपालिकाले यसप्रति गम्भीर ध्यान दिएको जनाएको छ ।
निर्णयअनुसार नगर क्षेत्रभित्र रहेका हाटबजार, बसपार्क, सार्वजनिक जमघट हुने स्थल, सडक किनारा, विद्यालय क्षेत्र तथा अन्य सार्वजनिक जग्गामा नगरपालिकाको अनुमति विना निर्माण गरिएका सम्पूर्ण संरचनालाई लक्षित गर्दै सूचना प्रकाशित गरिनेछ । उक्त सूचनापछि ३५ दिनभित्र स्वेच्छिक रूपमा संरचना नहटाइएमा सम्बन्धित निकायहरूसँग समन्वय गरी नगरपालिकाले आफैं भत्काएर हटाउने चेतावनी दिइएको छ ।
नगरपालिकाले सार्वजनिक सम्पत्तिको संरक्षण र व्यवस्थापनलाई प्राथमिकता दिँदै यस्तो कदम चालिएको स्पष्ट पारेको छ। अनियन्त्रित रूपमा बढ्दो अतिक्रमणले नगरको सौन्दर्य मात्र नभई सार्वजनिक सेवामा समेत असर पारिरहेको भन्दै यसको नियन्त्रण अपरिहार्य भएको जनाइएको छ ।
स्थानीय सरकारको यो निर्णयले दीर्घकालीन रूपमा नगर व्यवस्थापनलाई व्यवस्थित बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ। साथै, सार्वजनिक जग्गा संरक्षणप्रति स्थानीय बासिन्दामा सचेतना अभिवृद्धि हुने विश्वास पनि नगरपालिकाले व्यक्त गरेको छ ।
नगरपालिकाले सबै सरोकारवालालाई तोकिएको समयसीमाभित्र स्वेच्छिक रूपमा अतिक्रमित संरचना हटाई सहयोग गर्न आग्रह गरेको छ । अन्यथा प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अगाडि बढाइने स्पष्ट पारिएको छ । यस निर्णयलाई नगरको समुचित विकास र सार्वजनिक हितका लागि महत्वपूर्ण पहलका रूपमा हेरिएको छ ।