शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

वर्षाअघि बीपी राजमार्ग खुल्नेमा अन्योल, वैकल्पिक मार्ग पनि असहज

बुधवार , चैत्र २५, २०८२

सिन्धुली,२५ चैत — राजधानीलाई पूर्वी नेपालसँग जोड्ने प्रमुख मार्गका रूपमा स्थापित बीपी राजमार्ग पुनः सञ्चालनमा ल्याउने सरकारी प्रयास अपेक्षाअनुसार गति लिन नसक्दा वर्षाअघि पूर्ण रूपमा खुल्नेमा चुनौती देखिएको छ । प्राकृतिक विपत्तिको पुनरावृत्तिले कमजोर बनेको संरचना, ढिलो ठेक्का प्रक्रिया र वैकल्पिक मार्गको अभावले यो समस्या थप जटिल बनेको हो ।

जापान अन्तर्राष्ट्रिय सहयोग एजेन्सी (जाइका)को अनुदानमा निर्माण गरिएको बीपी राजमार्ग पूर्वी नेपाललाई राजधानीसँग जोड्ने सबैभन्दा छोटो र सहज सडक मानिन्छ । आर्थिक वर्ष ०५३/५४ देखि सुरु भई २०७१ सालमा सम्पन्न भएको यो आयोजना निर्माण सम्पन्न भएको केही समयमै २०७२ सालको भूकम्पले क्षतिग्रस्त बनाएको थियो । त्यसपछि पुनः मर्मत गरी सञ्चालनमा ल्याइएको यो राजमार्ग २०८१ सालको असोजमा आएको बाढीपहिरोले पुनः गम्भीर क्षति पु¥याएको हो ।

हाल काभ्रेको भकुण्डेबेँसीदेखि सिन्धुलीको नेपालथोकसम्मको करिब २८ किलोमिटर सडक पुनर्निर्माणको चरणमा रहेको छ । विशेषगरी चौकीडाँडा, बोक्सेकुना, माम्ती र चारसयबेँसीजस्ता स्थानहरूमा सडकको आधार संरचना नै नष्ट भएकाले पुनः आधारबाटै निर्माण गर्नुपर्ने अवस्था सिर्जना भएको छ । करिब ८ किलोमिटर खण्डमा पूर्ण पुनर्निर्माण आवश्यक रहेको सम्बन्धित निकायले जनाएको छ ।

सरकारले यस परियोजनाका लागि ८ अर्ब ५० करोड रुपैयाँको स्रोत सुनिश्चित गर्दै काभ्रे र सिन्धुली क्षेत्रमा छुट्टाछुट्टै ठेक्का सम्झौतामार्फत काम अघि बढाएको छ । काभ्रेतर्फका तीन खण्डमध्ये दुई खण्डमा निर्माण कार्य जारी रहेको छ भने एउटा खण्ड जाइकाको अनुदानमा निर्माण हुने भएकाले प्रक्रिया केही ढिलो देखिएको छ ।

डालाबेँसी–चारसयबेँसी (८.५ किमी) खण्डमा खानी–एवन–कमलजीत संयुक्त उद्यमले करिब एक अर्ब ४२ करोड रुपैयाँमा काम गरिरहेको छ । यस्तै, चारसयबेँसी–भकुण्डेबेँसी (११.८ किमी) खण्डमा लामा–नवकान्तिपुर संयुक्त उद्यमले करिब एक अर्ब ३३ करोड रुपैयाँको लागतमा काम अघि बढाएको छ । यी दुवै खण्डमा निर्माण कार्य जारी रहे पनि अपेक्षित प्रगति हुन सकेको छैन ।

जाइकाको सहयोगमा निर्माण हुने बर्खेखोला–पिप्ले (३.२ किमी) खण्डको ठेक्का प्रक्रिया अझै पूर्ण रूपमा टुंगिन सकेको छैन । यद्यपि, जापान सरकारसँग अनुदान सम्बन्धी समझदारी भइसकेकाले केही समयमै प्रक्रिया अगाडि बढ्ने अपेक्षा गरिएको छ ।

सिन्धुलीतर्फको नेपालथोक–बर्खेखोला (४.९० किमी) खण्डमा भने निर्माण कार्य करिब ३० प्रतिशत सम्पन्न भइसकेको छ । यस क्षेत्रमा बारम्बार आउने बाढीका कारण डाइभर्सनसमेत बग्ने समस्या दोहोरिँदै आएको छ । हाल आरसीसी संरचना निर्माण गरेर सडकलाई स्थायित्व दिने प्रयास भइरहेको छ । बर्खाअघि कम्तीमा ६५ प्रतिशत प्रगति हासिल गर्ने लक्ष्य लिइएको छ ।

बीपी राजमार्ग अवरुद्ध हुँदा यसको प्रभाव पूर्वी नेपालका यात्रु र ढुवानी क्षेत्रमा प्रत्यक्ष रूपमा पर्ने गरेको छ । दैनिक करिब तीन हजार सवारीसाधन आवतजावत गर्ने यस मार्गको विकल्प अझै स्पष्ट रूपमा विकसित हुन सकेको छैन । मध्यपहाडी लोकमार्गलाई सम्भावित विकल्पका रूपमा लिइए पनि आवश्यक पुल निर्माण नहुँदा वर्षायाममा यो मार्ग पनि अविश्वसनीय बन्ने गरेको छ ।

अन्य विकल्पका रूपमा खुर्कोट हुँदै रामेछाप, दोलखा र अरनिको राजमार्ग भएर काठमाडौं पुग्ने मार्ग, सिन्धुलीमाडी हुँदै हेटौंडा–फाखेल मार्ग तथा बर्दिबास–नारायणगढ–मुग्लिन हुँदै आउने मार्ग रहेका छन् । तर यी सबै मार्ग लामो दूरीका, समयसाध्य र आंशिक रूपमा स्तरोन्नति आवश्यक भएका कारण प्रभावकारी विकल्प बन्न सकेका छैनन् ।

पूर्वाधार क्षेत्रका जानकारहरूले दीर्घकालीन समाधानका रूपमा वैकल्पिक मार्गहरूको स्तरोन्नतिमा जोड दिएका छन् । भौतिक तथा यातायात मन्त्रालयका पूर्वसचिव किशोर थापाले कान्ति लोकपथ र मध्यपहाडी राजमार्गलाई सुदृढ बनाउँदै बीपी राजमार्गको विकल्पका रूपमा विकास गर्नुपर्ने आवश्यकता औंल्याएका छन् । उनका अनुसार, एकमात्र मार्गमा निर्भर रहनु जोखिमपूर्ण हुने भएकाले बहुविकल्पीय संरचना विकास आवश्यक छ ।

सरकारी अधिकारीहरूले भने हाल प्राथमिकता बीपी राजमार्गकै पुनर्निर्माणमा केन्द्रित रहेको बताएका छन् । उच्च जोखिम भएका क्षेत्रहरूमा कामलाई तीव्रता दिँदै वर्षाअघि आंशिक रूपमा सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ । तर दीर्घकालीन विकल्पबारे स्पष्ट योजना नहुँदा भविष्यमा यस्तै समस्या पुनः दोहोरिन सक्ने चिन्ता व्यक्त गरिएको छ ।

समग्रमा, बीपी राजमार्गको पुनर्निर्माण कार्यले केही गति लिएको भए पनि संरचनागत चुनौती, प्राविधिक जटिलता र व्यवस्थापन पक्षका कमजोरीका कारण अपेक्षित परिणाम हासिल हुन सकेको छैन । समयमै कार्य सम्पन्न नभए पूर्वी नेपालसँगको सडक सम्पर्क पुनः अवरुद्ध हुने जोखिम कायमै रहने देखिन्छ ।

प्रतिक्रिया