शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

रोशी खोलामा बाढीपछिको अवस्था : अवलोकनमा गृहमन्त्री

मंगलवार , चैत्र २४, २०८२

 

काठमाडौँ,२४ चैत  — गृहमन्त्री सुधन गुरुङले काभ्रेपलाञ्चोकस्थित रोशी खोलामा आएको बाढीपछि उत्पन्न परिस्थितिको स्थलगत निरीक्षण गर्दै विपद् व्यवस्थापनलाई थप प्रभावकारी बनाउन द्रुत उद्धार प्रणाली अनिवार्य रहेको बताएका छन् । मंगलबार प्रभावित क्षेत्रको भ्रमणमा पुगेका मन्त्री गुरुङले बाढीबाट प्रभावित बस्ती, सडक संरचना तथा जोखिममा रहेका क्षेत्रहरूको अवलोकन गरेका हुन् ।

निरीक्षणका क्रममा उनले विपद्को प्रकृति अनुसार उद्धार टोली परिचालन गर्नुपर्नेमा विशेष जोड दिए । पानीजन्य विपद्का लागि गोताखोरसहितको जल उद्धार टोली, घाइतेको तत्काल उद्धारका लागि स्वास्थ्यकर्मी र आपतकालीन सेवा टोली आवश्यक हुने उनको भनाइ थियो । “विपद्को स्वरूप बुझेर त्यसअनुसारको दक्ष जनशक्ति परिचालन गर्नु नै प्रभावकारी उद्धारको आधार हो,” उनले भने ।

गृहमन्त्री गुरुङले विगतमा विपद् व्यवस्थापनमा ढिलाइ हुने प्रवृत्ति रहेको स्वीकार गर्दै अहिले सरकारले रणनीतिक रूपमा परिवर्तन ल्याएको बताए । पहिले खर्च न्यून गर्ने सोच हाबी हुँदा उद्धार कार्यमा ढिलाइ हुने गरेको उल्लेख गर्दै उनले अब सुरुवातमै हेलिकप्टरमार्फत उद्धार टोली परिचालन गर्ने नीति अपनाइएको स्पष्ट पारे ।

उनका अनुसार दुर्गम तथा सडक अवरुद्ध भएका क्षेत्रमा एम्बुलेन्स वा अन्य साधन समयमै पुग्न नसक्ने भएकाले हवाई उद्धार सेवा सबैभन्दा प्रभावकारी विकल्पका रूपमा अघि सारिएको छ । “विपद्को सूचना प्राप्त हुनेबित्तिकै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उद्धार टोली तयारी अवस्थामा राखिन्छ र हेलिकप्टरमार्फत प्रभावित क्षेत्रमा पठाइन्छ,” उनले जानकारी दिए ।

स्थलगत निरीक्षणका क्रममा मन्त्री गुरुङले स्थानीयवासीसँग प्रत्यक्ष संवाद गर्दै उनीहरूको समस्या र आवश्यकताबारे जानकारी लिएका थिए । उनले प्रभावित क्षेत्रमा तत्काल राहत र पुनस्र्थापना कार्यलाई तीव्रता दिने प्रतिबद्धता पनि जनाए ।

यसैबीच, निरीक्षण कार्यक्रममा स्थानीय प्रतिनिधि कुनसाङ लामा र मिमबहादुर वाइबाले गृहमन्त्रीलाई स्वागत गर्दै क्षेत्रको वर्तमान अवस्था तथा चुनौतीबारे जानकारी गराएका थिए । उनीहरूले दीर्घकालीन रूपमा बाढी नियन्त्रण र पूर्वाधार सुदृढीकरणमा सरकारको ध्यानाकर्षण गराएका थिए ।

सरकारले विपद् व्यवस्थापनमा द्रुतता, दक्षता र प्रविधिको उपयोग बढाउने लक्ष्यसहित नयाँ कार्ययोजना अघि बढाएको जनाउँदै गृहमन्त्री गुरुङले भविष्यमा यस्ता घटनामा क्षति न्यूनीकरण गर्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया