शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सिन्धुलीमा मोटरसाइकल दुर्घटना : दुई जना गम्भीर घाइते

मंगलवार , चैत्र २४, २०८२

सिन्धुली, २४ फागुन — सिन्धुली जिल्लाको दुधौली नगरपालिका–८ खोरभञ्ज्याङमा सोमवार साँझ भएको सवारी दुर्घटनामा दुई जना गम्भीर घाइते भएका छन् । मदन भण्डारी राजमार्ग अन्तर्गत खोरभञ्ज्याङबाट सुगारेतर्फ जाँदै गरेको मोटरसाइकलले पैदल यात्रीलाई ठक्कर दिँदा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका  अनुसार दुधौली नगरपालिका–७ सुगारे निवासी अन्दाजी ७२÷७३ वर्षीय भविलाल अधिकारीले चलाएको स.११ प.४१९१ नम्बरको मोटरसाइकलले सोही नगरपालिका–७ कटहरे निवासी अन्दाजी ५२ वर्षीय मोहना सदालाई सोमवार साँझ ७ः २० बजे ठक्कर दिएको थियो । दुर्घटनापछि दुवैजना गम्भीर अवस्थामा फेला परेका थिए ।

दुर्घटनामा पैदल यात्री मोहना सदाको बायाँ खुट्टामा गम्भीर चोट लागेको छ भने उनी घटनास्थलमै बेहोस अवस्थामा रहेको प्रहरीले जनाएको छ । यस्तै, मोटरसाइकल चालक भविलाल अधिकारीको बायाँ आँखा र घुँडामा गम्भीर चोट लागेको छ र उनी पनि बोल्न नसक्ने तथा बेहोस अवस्थामा भेटिएका थिए ।

दुर्घटनाको खबर प्राप्त हुनासाथ प्रहरी चौकी दुधौलीबाट  खटिएको टोली घटनास्थलमा पुगेको थियो । घाइते दुवैजनालाई तत्काल उद्धार गरी दुधौलीस्थित नगर अस्पताल सिर्थौलीमा ल्याई उपचार सुरु गरिएको थियो ।

प्रारम्भिक उपचारपछि अवस्था गम्भीर रहेकाले मोटरसाइकल चालक अधिकारीलाई साँझ करिब ९ बजेर १० मिनेटमा थप उपचारका लागि बर्दिबासतर्फ पठाइएको प्रहरीले जनाएको छ । यस्तै, पैदल यात्री मोहना सदालाई पनि करिब ९ बजेर ३० मिनेटमा थप उपचारका लागि नोवेल अस्पताल विराटनगरतर्फ रिफर गरिएको छ ।

प्रहरीले दुर्घटनामा संलग्न मोटरसाइकल नियन्त्रणमा लिई प्रहरी चौकी दुधौलीमा राखिएको जनाएको छ । दुर्घटनाको कारणबारे विस्तृत अनुसन्धान भइरहेको  प्रहरीले जनाएको छ । सडक सुरक्षा तथा सावधानी अपनाउनुपर्ने आवश्यकतालाई यस घटनाले पुनः उजागर गरेको स्थानीयवासीले बताएका छन् ।

प्रतिक्रिया