शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सिन्धुलीमा राष्ट्रिय आर्थिक गणनाका लागि गोष्ठी

सोमवार , चैत्र २३, २०८२

सिन्धुली,२३ चैत — राष्ट्रिय आर्थिक गणना २०८२ लाई प्रभावकारी, विश्वसनीय र सर्वसमावेशी ढंगले सम्पन्न गर्ने उद्देश्यले सिन्धुलीमाढीमा जिल्लास्तरीय सरोकारवाला गोष्ठी आयोजना गरिएको छ । जिल्ला आर्थिक गणना कार्यालय, सिन्धुलीको पहलमा आयोजित उक्त कार्यक्रम जिल्ला आर्थिक गणना समन्वय समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको हो ।

गोष्ठीमा विभिन्न सरकारी निकायका प्रतिनिधि, राजनीतिक दलका पदाधिकारी, उद्योग वाणिज्य क्षेत्रका अगुवा तथा सामाजिक संघसंस्थाका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रममा आर्थिक गणनाको उद्देश्य, कार्यविधि तथा आगामी कार्ययोजनाबारे विस्तृत जानकारी प्रदान गरिएको थियो ।

कार्यक्रममा आर्थिक गणना अधिकारी टिकाप्रसाद नेपालले गणनाको कार्यतालिका प्रस्तुत गर्दै आगामी बैशाख २ गतेदेखि असार ७ गतेसम्म जिल्लाभर आर्थिक गणना सञ्चालन गरिने जानकारी दिए । उनका अनुसार उक्त अवधिमा पाँच जना सुपरिवेक्षक र ३० जना गणक परिचालन गरिनेछन् । गणनालाई प्रभावकारी बनाउन चैत २६ गतेदेखि ३० गतेसम्म पाँच दिने तालिम सञ्चालन गरी गणक तथा सुपरिवेक्षकलाई फिल्डमा खटाइने तयारी गरिएको छ ।

गोष्ठीमा बोल्दै प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले आर्थिक गणना देशको विकास नीतिनिर्माणको आधार हुने भएकाले यसको सफलतामा सबै पक्षको सक्रिय सहभागिता अपरिहार्य रहेको बताइन । उनले विश्वसनीय तथ्यांक संकलनका लागि जनस्तरबाट सहकार्य आवश्यक रहेकोमा जोड दिइन ।

जिल्ला समन्वय समिति उपप्रमुख शान्ता कार्कीले घरघरमा पुग्ने गणकलाई यथार्थ र सही सूचना उपलब्ध गराउन सर्वसाधारणलाई आग्रह गरिन । उनले आर्थिक गणनाबाट प्राप्त तथ्यांकले स्थानीय विकास योजना निर्माणमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरिन ।

त्यसैगरी उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष देब श्रेष्ठले निजी क्षेत्रको सहभागिता र सहयोगबिना आर्थिक गणना सफल हुन नसक्ने उल्लेख गर्दै सबै सरोकारवालालाई सहकार्यका लागि आह्वान गरे 

आयोजकका अनुसार आर्थिक गणना देशको आर्थिक गतिविधिको यथार्थ अवस्था उजागर गर्ने महत्वपूर्ण प्रक्रिया हो । यसबाट प्राप्त तथ्यांकले नीति निर्माण, स्रोत व्यवस्थापन तथा दीर्घकालीन विकास योजनामा मार्गनिर्देशन गर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया