सिन्धुली,२३ चैत – जिल्लाको गोलन्जोर गाउँपालिका–६ स्थित विभिन्न वन क्षेत्रमा आइतबार साँझदेखि डढेलो लागेर फैलिँदै गएको छ । गाउँपालिका–६ अन्तर्गत पर्ने सुङ्गुरे गाउँ नजिकैको जंगलबाट सुरु भएको आगलागी नेवार खोरिया, सानीपोखरी र ठूलीपोखरी डाँडा आसपासका क्षेत्रमा समेत फैलिएको स्थानीय जनप्रतिनिधिले जनाएका छन् ।
वडाध्यक्ष रविन श्रेष्ठका अनुसार डढेलो विस्तारै फैलिँदै गइरहेको छ र तत्काल नियन्त्रणमा नआएमा यसले थप जोखिम निम्त्याउने सम्भावना देखिएको छ । “हालसम्म हावाहुरी चलेको छैन, त्यसैले स्थिति केही नियन्त्रणमै रहेको अनुमान गर्न सकिन्छ । तर यदि हावाहुरी चल्यो भने आगो गाउँतर्फ पनि फैलिन सक्ने जोखिम उच्च छ,” उनले बताए ।
डढेलो लाग्नुको कारण खुल्न सकेको छैन । यद्यपि सुख्खा मौसम, वन क्षेत्रमा जमेको सुक्खा घाँसपात तथा मानवीय लापरवाही जस्ता कारणले आगलागी हुने सम्भावना रहने सरोकारवालाहरू बताउँछन् । पछिल्लो समय देशका विभिन्न पहाडी तथा तराई क्षेत्रमा डढेलोका घटना बढ्दो क्रममा देखिनुले वन संरक्षण र विपद् व्यवस्थापनमा चुनौती थपिएको छ ।
स्थानीयवासीहरू आगो नियन्त्रणका लागि प्रयासरत भए पनि पर्याप्त स्रोत–साधनको अभावले कठिनाइ भइरहेको बताइएको छ । वन क्षेत्रमा पुग्न कठिन भौगोलिक अवस्था, आवश्यक उपकरणको कमी तथा जनशक्तिको सीमितताका कारण डढेलो नियन्त्रण कार्य प्रभावकारी हुन नसकेको स्थानीयले गुनासो गरेका छन् ।
डढेलोका कारण वन्यजन्तु, जैविक विविधता तथा वातावरणमा प्रत्यक्ष असर पर्ने चिन्ता व्यक्त गरिएको छ । साथै, बस्ती नजिक फैलिएको आगलागीले स्थानीय बासिन्दाको जनधनको सुरक्षामा समेत खतरा उत्पन्न गरेको छ । यस अवस्थाले स्थानीय तह, सुरक्षा निकाय तथा वन कार्यालयबीच समन्वय गरी तत्काल नियन्त्रणको प्रभावकारी उपाय अवलम्बन गर्नुपर्ने आवश्यकता औँल्याइएको छ ।
सम्बन्धित निकायहरूले डढेलो नियन्त्रणका लागि आवश्यक पहल थालिएको जनाएका छन् । स्थानीय तहले जनशक्ति परिचालन, सचेतना अभिवृद्धि तथा आवश्यक सहयोगका लागि तयारी अवस्थामा रहेको बताइएको छ । साथै, नागरिकलाई आगलागीबाट जोगिन सतर्क रहन तथा शंकास्पद गतिविधि देखिएमा सम्बन्धित निकायलाई जानकारी गराउन आग्रह गरिएको छ ।
डढेलो नियन्त्रणमा समयमै सफलता प्राप्त गर्न सकिएन भने यसले दीर्घकालीन वातावरणीय तथा मानवीय क्षति पु¥याउने जोखिम रहेकोले तत्काल सक्रिय हस्तक्षेप अपरिहार्य देखिएको छ ।