शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सिन्धुलीमा क्रेन दुर्घटना :  चिनियाँ मजदुर गम्भीर घाइते, चालक फरार

आइतवार , चैत्र २२, २०८२

सिन्धुली,२२ चैत — जिल्लाको मरिण गाउँपालिका–४ स्थित सहन क्षेत्रमा रहेको हिमालयन फुड चाइनिज कम्पनी परिसरमा आइतबार साँझ भएको क्रेन दुर्घटनामा एक जना चिनियाँ नागरिक गम्भीर घाइते भएका छन् । प्रहरीका अनुसार रड उचाल्ने क्रममा डोरी चुडिँदा क्रेनबाट खसेको सामग्रीले लागेर ३९ वर्षीय मजदुर वाङसिन  घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार दुर्घटना आइतवार साँझ करिब ६ः३० बजेतिर भएको हो । पर्सा जिल्ला, वीरगञ्ज निवासी करिब ५३ वर्षीय चालक सकिल मोहम्मद अन्सारीले चलाइरहेको बा ३ क ३६८९ नम्बरको क्रेनले काम गर्ने क्रममा रड उचाल्दा अचानक डोरी चुडिएको थियो । सोही क्रममा टुचनले लागेर वाङसिनको टाउको, दाहिने कानको छेउ तथा हातमा गम्भीर चोट लागेको जनाइएको छ । उनको अवस्था गम्भिर रहेमो बोल्न नसक्ने अवस्थामा रहेकोे प्रहरीले जनाएको छ । 

घटनापछि तत्कालै घाइतेलाई जिल्ला अस्पताल सिन्धुली ल्याइएकोे थियो । अस्पतालमा प्रारम्भिक उपचारपछि उनको अवस्था गम्भीर देखिएकाले थप उपचारका लागि आइतवारराति करिब ८ः०० बजे एम्बुलेन्स मार्फत जनकपुरतर्फ पठाइएकोे प्रहरीले जनाएको छ । घाइतेलाई जनकपुरबाट यरबस मार्फत काठमाण्डौ पठाउनको लागी पहल भइरहेको  प्रहरीले जनाएको छ ।

दुर्घटनाको समयमा कम्पनीका चिनियाँ तथा नेपाली मजदुरहरू कार्यरत रहेको र नेपाली मजदुर अनमोल लम्सालसमेत सो कार्यमा संलग्न रहेको जानकारी प्राप्त भएको छ । घटनापछि क्रेन चालक अन्सारी फरार रहेका छन् । उनको खोजतलास तीव्र पारिएको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनाको थप अनुसन्धान जारी रहेको जनाएको छ । प्रारम्भिक अनुसन्धानबाट कार्यस्थलमा सुरक्षा सावधानीको कमी र उपकरण व्यवस्थापनमा त्रुटि हुन सक्ने आशंका गरिएको छ । यस विषयमा कम्पनी व्यवस्थापनसँग पनि आवश्यक सोधपुछ भइरहेको प्रहरीले जनाएको छ ।

यस घटनाले औद्योगिक क्षेत्रमा कार्यरत मजदुरहरूको सुरक्षालाई लिएर पुनः गम्भीर प्रश्न उठाएको छ। सम्बन्धित निकायले यस्ता दुर्घटना दोहोरिन नदिन कार्यस्थलमा सुरक्षा मापदण्ड कडाइका साथ कार्यान्वयन गर्नुपर्ने आवश्यकता औँल्याइएको छ।

प्रतिक्रिया