शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

डाँडी गुराँसेमा ९८ जनाको क्षयरोग परिक्षण

आइतवार , चैत्र २२, २०८२


सिन्धुली,२२ चैत — क्षयरोग (टीबी) जस्तो संक्रामक रोगको समयमै पहिचान र नियन्त्रणका उद्देश्यले कमलामाई नगरपालिका–१ स्थित डाँडी गुराँसे स्वास्थ्य चौकीमा सञ्चालन गरिएको माइक्रोस्कोपी विधिमा आधारित खकार परीक्षण क्याम्प सम्पन्न भएको छ । कमलामाई नगरपालिका, स्वास्थ्य शाखा सिन्धुलीको आयोजनामा सम्पन्न उक्त क्याम्पले समुदायस्तरमा क्षयरोगको प्रारम्भिक पहिचान र जनचेतना अभिवृद्धिमा महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ ।

स्वास्थ्यकर्मीका अनुसार क्याम्पमा क्षयरोगका सम्भावित लक्षण देखिएका बिरामीहरूलाई लक्षित गरी परीक्षण गरिएको थियो । लामो समयसम्म खोकी लागिरहने, तौल घट्दै जाने, राति पसिना आउने तथा थकान महसुस हुने जस्ता लक्षण भएका व्यक्तिहरूलाई विशेष प्राथमिकतामा राखी खकार परीक्षण गरिएको जनाइएको छ । क्याम्पमा कुल ९८ जना बिरामीहरूको खकार नमुना संकलन गरी माइक्रोस्कोपी विधिबाट परीक्षण गरिएको थियो ।

स्थानीय स्वास्थ्य शाखाका प्रतिनिधिहरूले यस्ता कार्यक्रमले समुदायमा लुकेर बसेका क्षयरोगका बिरामी पहिचान गर्न मद्दत पुग्ने र रोगको फैलावट नियन्त्रणमा प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् । उनीहरूले समयमै परीक्षण र उपचारमा जोड दिन सकेमा क्षयरोग निको पार्न सकिने रोग भएकाले नागरिकहरूलाई लक्षण देखिएमा ढिलाइ नगरी स्वास्थ्य संस्थामा सम्पर्क गर्न आग्रह गरेका छन् ।

क्याम्प सञ्चालनका क्रममा स्थानीय बासिन्दाको उत्साहजनक सहभागिता रहेको बताइएको छ । स्वास्थ्यकर्मीहरूले घरदैलो स्तरमै पुगेर जानकारी दिँदा तथा सचेतना फैलाउँदा नागरिकहरू परीक्षणका लागि सहजै आउन प्रेरित भएको अनुभव गरिएको छ । यसले भविष्यमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने आवश्यकता औँल्याएको छ ।

कमलामाई नगरपालिकाले आगामी दिनहरूमा पनि जोखिमयुक्त क्षेत्रमा यस्ता लक्षित स्वास्थ्य कार्यक्रमहरू सञ्चालन गर्दै जाने जनाएको छ । क्षयरोग नियन्त्रणका लागि समुदाय, स्थानीय सरकार र स्वास्थ्यकर्मीबीचको सहकार्य अपरिहार्य रहेको उल्लेख गर्दै स्वास्थ्य शाखाले सबै सरोकारवालालाई सक्रिय भूमिका निर्वाह गर्न आह्वान गरेको छ ।

यस क्याम्पबाट प्राप्त नतिजाले जिल्लामा क्षयरोगको अवस्थाबारे थप स्पष्टता ल्याउने र आवश्यक रणनीति निर्माणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया