काठमाडौं,२१ चैत – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा यात्रुलाई दुःख दिने तथा विभिन्न प्रलोभनमा पारेर होटलसम्म पु¥याउने गिरोहमा संलग्न भएको आरोपमा प्रहरीले सिन्धुलीका राजकुमार राईसमेत १८ जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शुक्रबार राति करिब १० बजे सञ्चालन गरिएको विशेष निगरानी अभियानका क्रममा उनीहरूलाई पक्राउ गरिएको हो ।
प्रहरीका अनुसार पक्राउ परेकाहरूले विमानस्थलमा आउने यात्रुलाई जबरजस्ती तान्ने, अनावश्यक दबाब दिने, आफू निकट होटलमा लैजान प्रलोभन देखाउने तथा त्यसबापत कमिसन लिने गतिविधि गर्दै आएका थिए । यस्ता क्रियाकलापले विमानस्थलको अनुशासन तथा यात्रुको सुरक्षामा प्रत्यक्ष असर पार्दै आएको भन्दै प्रहरीले कडाइ थालेको जनाएको छ ।
नियन्त्रणमा लिइएकामध्ये अरु सर्लाहीका सूर्य माझी, बाँकेका एकेश तामाङ, पाँचथरका प्रेमकुमार मगर, , मकवानपुरका मंगलमान घलान, खगेन्द्र लिम्बू, विश्व मोक्तान तथा अजय लामा, मोरङका आशिष खतिवडा र पर्शुराम राई, धनुषाका वीरेन्द्र झा, रघुवीर साह र सरोजकुमार महतो, सिरहाका लडा मियाँ, महोत्तरीका राजीवकुमार रावत, रामेछापाका सन्तु तामाङ, झापाका केशव लिम्बू तथा बझाङका रामप्रसाद जोशी र विमलराज जोशी रहेका छन् ।
प्रहरी अनुसन्धानका क्रममा उनीहरूले यात्रुलाई लक्षित गर्दै समूहगत रूपमा काम गर्ने, आपसी समन्वयमार्फत ग्राहक तान्ने र कहिलेकाहीँ आपसमा झगडा तथा अभद्र व्यवहारसमेत गर्ने गरेको पाइएको छ । यस्तो गतिविधिले विदेशी तथा आन्तरिक यात्रुको अनुभवमा नकारात्मक प्रभाव पार्दै आएको प्रहरीको भनाइ छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक पवन भट्टराईले पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको जानकारी दिए । उनका अनुसार विमानस्थल क्षेत्रलाई व्यवस्थित, सुरक्षित र यात्रुमैत्री बनाउन यस्ता गैरकानुनी गतिविधिमाथि निगरानी अझ कडा बनाइनेछ ।
प्रहरीले यात्रुलाई पनि अपरिचित व्यक्तिको प्रलोभनमा नपर्न र आधिकारिक सेवा प्रदायकसँग मात्र सम्पर्क राख्न आग्रह गरेको छ । विमानस्थल परिसरमा देखिएका शंकास्पद गतिविधिबारे तत्काल प्रहरीलाई जानकारी गराउनसमेत अपिल गरिएको छ ।
यस घटनालाई विमानस्थल क्षेत्रको व्यवस्थापन र सुरक्षा सुदृढीकरणका लागि महत्वपूर्ण संकेतका रूपमा हेरिएको छ । प्रहरीले आगामी दिनमा पनि यस्ता अभियानलाई निरन्तरता दिने जनाएको छ ।