सिन्धुली,२० चैत —संघीय राजधानी काठमाडौंलाई पूर्वी नेपालसँग जोड्ने सबैभन्दा छोटो, रणनीतिक तथा अत्यन्त महत्वपूर्ण सडकमार्ग बिपी राजमार्ग पछिल्लो डेढ वर्षदेखि निरन्तर जोखिमपूर्ण यात्राको प्रतीक बनेको छ । मध्यपहाडी क्षेत्रको यात्रालाई सहज बनाउने उद्देश्यले निर्माण गरिएको यो मार्ग अहिले भने वर्षा लाग्नेबित्तिकै अवरुद्ध हुने, भत्किने र पुनः मर्मत गरिने चक्रमा फसेको छ ।
हालका दिनमा भइरहेको सामान्य वर्षाले समेत राजमार्गमा अवरोध सिर्जना गरिरहेको छ । चालु चैत महिनाको मध्यसम्म मात्र दुई पटक सडक अवरुद्ध भइसकेको छ, जसले यात्रुहरूलाई सास्ती मात्र होइन, जोखिमपूर्ण यात्रामा बाध्य बनाएको छ । यसअघि अस्थायी रूपमा सञ्चालनमा ल्याइएका सडक खण्डहरू पनि पुनः वर्षाका कारण क्षतिग्रस्त हुँदै आएका छन् ।
विशेषगरी काभ्रेपलाञ्चोकको चौकीडाँडादेखि सिन्धुलीका विभिन्न खण्डहरूमा गत दुई वर्षमा आएको बाढीपहिरोले गम्भीर क्षति पु¥याएको छ । रोशी खोलामा आएको बाढीले सडकका विभिन्न भाग बगाएर सडक संरचना नै ध्वस्त बनाएको थियो । कतिपय स्थानमा सडकको नामोनिसानै मेटिने गरी क्षति पुगेपछि खोलाबाटै डाइभर्सन बनाएर सवारी सञ्चालन गर्नुपरेको अवस्था देखिएको छ ।
यसवर्ष वर्ष असोज १०, ११ र १२ गते परेको अविरल वर्षाले बर्दिबासदेखि धुलिखेलसम्म करिब १० किलोमिटर सडक क्षतिग्रस्त बनाएको थियो । त्यसपछि अस्थायी मर्मत गरी सञ्चालनमा ल्याइएको सडकमा पुनः असोज १७ र १८ गतेको वर्षाले थप क्षति पु¥यायो । यस वर्ष पनि सोही अवस्थाको पुनरावृत्ति भएको छ, जसले स्थायी समाधानको आवश्यकता अझै प्रष्ट बनाएको छ ।
डिभिजन सडक कार्यालय भक्तपुरका अनुसार प्रारम्भिक अनुगमनमा करिब चार किलोमिटर सडक पूर्ण रूपमा बगिसकेको छ भने करिब ३० किलोमिटर सडकमा विभिन्न स्तरको क्षति पुगेको छ । विशेषगरी नेपालथोक–आँपटार, कालढुंगा, डालाबेँसी, चिउरीबास लगायतका क्षेत्रमा सयौं मिटर सडक बगेर जोखिमपूर्ण अवस्था सिर्जना भएको छ ।
यद्यपि, दीर्घकालीन समाधानका लागि स्थायी पुनर्निर्माण कार्य अहिले तीव्र गतिमा अघि बढाइएको छ । तीन खण्डमा एकैसाथ काम सुरु गरिएको छ र आगामी दुई वर्षभित्र पुनर्निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । हालसम्म काभ्रेपलाञ्चोकतर्फका तीन सडक खण्डमा करिब २५ प्रतिशत काम सम्पन्न भइसकेको सडक कार्यालयले जनाएको छ ।
पुनर्निर्माण अन्तर्गत सडकलाई दुई लेनमा स्तरोन्नति गर्ने योजना अघि बढाइएको छ । सात मिटर चौडाइको कालोपत्रे सडक निर्माण, आरसीसी पर्खाल निर्माण, पुल विस्तार तथा नयाँ संरचना निर्माण गर्ने काम भइरहेको छ । जोखिमयुक्त स्थानहरूमा बाढीको असर कम गर्ने खालका संरचना निर्माण गर्न विशेष प्राथमिकता दिइएको छ । पाँच वटा पुललाई समेत दुई लेनमा रूपान्तरण गर्ने योजना रहेको छ ।
यस परियोजनाका लागि सरकारले करिब ८ अर्ब ५० करोड रुपैयाँ स्रोत सुनिश्चित गरेको छ भने केही खण्ड जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को सहयोगमा पुनर्निर्माण हुने भएका छन् । विभिन्न निर्माण कम्पनीहरूलाई सडकका खण्डहरू पुनर्निर्माणका लागि ठेक्का दिइसकिएको छ र काम तीव्र रूपमा अघि बढिरहेको छ ।
तर, प्राकृतिक विपत्तिसँगै मानवीय कारण पनि सडकको क्षतिमा उत्तिकै जिम्मेवार देखिएका छन् । प्राविधिक अध्ययनले १६ टनभन्दा बढी भार भएका सवारी सञ्चालनमा रोक लगाउन सुझाए पनि व्यवहारमा २५ टनसम्मका ट्रिपरहरू सञ्चालन भइरहेका छन् । दैनिक सयौं ट्रिपरहरूले क्षमताभन्दा बढी ढुवानी गर्दा सडक संरचना झन् कमजोर बन्दै गएको छ ।
ट्राफिक प्रहरीका अनुसार दैनिक तीन हजारभन्दा बढी सवारीसाधन यस मार्ग हुँदै आवतजावत गर्ने गर्छन् । मुग्लिन–नारायणगढ सडकखण्ड अवरुद्ध हुँदा पूर्वबाट आउने सवारीको चाप बिपी राजमार्गमा थपिने गर्दछ, जसले जोखिम अझै बढाउँछ । विशेषगरी रातिको समयमा सवारी सञ्चालनमा रोक लगाउनु पर्ने अवस्था समेत आउने गरेको छ ।
नियम कार्यान्वयनमा कमजोरी, नियमित अनुगमनको अभाव तथा सरोकारवाला निकायबीच समन्वय अभावका कारण समस्या समाधानमा चुनौती थपिएको देखिन्छ । क्षमताभन्दा बढी भार बोकेर सञ्चालन हुने सवारी साधनमाथि प्रभावकारी नियन्त्रण नहुँदा पुनर्निर्माणपछि पनि दीर्घकालीन स्थायित्वमा प्रश्न उठ्ने सम्भावना देखिन्छ ।
समग्रमा, बिपी राजमार्गको पुनर्निर्माण कार्यले यात्रालाई सुरक्षित र सहज बनाउने अपेक्षा गरिएको छ । तर निर्धारित समयभित्र गुणस्तरीय निर्माण सम्पन्न गर्नु, नियमको कडाइका साथ कार्यान्वयन गर्नु र दीर्घकालीन पूर्वाधार विकासमा ध्यान दिनु अत्यावश्यक देखिन्छ । अन्यथा, वर्षेनी दोहोरिने प्राकृतिक विपत्ति र मानवीय लापरबाहीका कारण यो महत्वपूर्ण सडकमार्ग निरन्तर संकटग्रस्त रहने खतरा कायमै रहनेछ ।