सिन्धुली ,२० चैत— सडक दुर्घटना न्यूनीकरण तथा सचेतना अभिवृद्धि गर्ने उद्देश्यले सिन्धुलीको भिमान क्षेत्रमा सञ्चालन गरिएको संयुक्त स्वास्थ्य परीक्षण अभियानका क्रममा चार जना सवारी चालक ला.प.से (लागू पदार्थ सेवन) परीक्षणमा पोजेटिभ देखिएपछि नियन्त्रणमा लिइएका छन् ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार शुक्रवार कमलामाई नगरपालिका–९ भिमान बसपार्क क्षेत्रमा विशेष अभियान सञ्चालन गरिएको थियो । प्रहरी निरीक्षक राजु के.सी. खत्रीको कमाण्डमा खटिएको टोली, जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुली, अस्थायी ट्राफिक पोष्ट भिमान तथा जिल्ला जनस्वास्थ्य कार्यालयबाट खटिएका स्वास्थ्यकर्मीहरूको संयुक्त सहभागितामा उक्त कार्यक्रम सञ्चालन गरिएको हो ।
बिपी राजमार्ग तथा मदन भण्डारी राजमार्ग हुँदै आवतजावत गर्ने साना तथा ठूला गरी जम्मा चौँतीस वटा सवारी साधनका चालकहरूको स्वास्थ्य परीक्षण तथा सचेतना कार्यक्रम सञ्चालन गरिएको थियो । सोही क्रममा गरिएको ला.प.से परीक्षणमा चार जना चालक पोजेटिभ देखिएपछि उनीहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय भिमानमा राखिएको प्रहरीले जनाएको छ ।
नियन्त्रणमा लिइएकामध्ये ना एक क ५१०७ नम्बरको टिप्पर चालक महोत्तरीको गौशाला नगरपालिका–१२ निवासी चौबीस वर्षीय अमित कुमार झा रहेका छन् । त्यसैगरी प्रदेश १–०२–००१ ज ४४७० नम्बरको विद्युतीय सवारी(इभि) चालक, मोरङको बेलबारी नगरपालिका–८ निवासी एकचालीस वर्षीय चक्र निरौला, ना ६ ख १३७९ नम्बरको ट्रक चालक बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–१६ निवासी एकतीस वर्षीय विशाल मगर र ना ४ ख ३२१४ नम्बरको ट्रक चालक खोटाङको बराहापोखरी गाउँपालिका–१ निवासी पच्चीस वर्षीय दीपक मगर रहेका छन् ।
उक्त कार्यक्रम शुक्रवार बिहान आठ बजे सुरु भई साढे दश बजे सम्पन्न भएको थियो । प्रहरीका अनुसार सवारी चालकहरूमा लागू पदार्थ सेवनको अवस्था पत्ता लगाई दुर्घटना जोखिम घटाउने उद्देश्यले यस्ता अभियानलाई निरन्तरता दिइनेछ । साथै, सडक सुरक्षा सम्बन्धी जनचेतना अभिवृद्धि गर्न स्थानीय स्तरमा नियमित रूपमा यस्ता कार्यक्रम सञ्चालन गरिने प्रहरीको भनाइ छ ।