शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

बी.पी. राजमार्गमा बस–हायस ठोक्किँदा नौं जना घाइते, केहीको अवस्था गम्भीर

शुक्रवार , चैत्र २०, २०८२

सिन्धुली,२० चैत  — सिन्धुलीको सुनकोशी गाउँपालिका–५ साईटारस्थित बी.पी. राजमार्गमा शुक्रबार बिहान भएको सवारी दुर्घटनामा नौ जना यात्रु घाइते भएका छन् । काठमाडौँबाट काँकडभित्तातर्फ आउदै गरेको हायस र विपरीत दिशा खुर्कोटबाट काठमाडौंतर्फ जादै गरेकोबाट काठमाडौँतर्फ आउँदै गरेको बस एकापसमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

प्रहरीका अनुसार बिहान करिब १० बजेर २० मिनेटतिर ललितपुर महानगरपालिका–१५ बस्ने ३८ वर्षीय गजबहादुर मगरले चलाएको बा ४ ख ५०५२ नम्बरको हायस र दोलखा बैतेश्वर गाउँपालिका–६ का २६ वर्षीय सुमन सुवेदीले चलाएको बागमती प्रदेश ०१–००६ ख २२९७ नम्बरको बस आपसमा ठोक्किएका हुन् । दुर्घटनापछि दुवै सवारीसाधनमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

दुर्घटनालगत्तै रातामाटा प्रहरी चौकीको प्रहरीटोली तथा इलाका प्रहरी कार्यालय खुर्कोटको प्रहरी र ट्राफिक प्रहरीको टोली घटनास्थलमा खटिएको थियो । प्रहरी टोलीले घाइतेहरूको उद्धार गरी नजिकका स्वास्थ्य संस्थामा पठाएको जनाएको छ ।

घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको छ । हायस चालक गजबहादुर मगरको टाउकोमा चोट लागेको छ र उनलाई धुलिखेल अस्पताल रिफर गरिएको छ । त्यस्तै, काभ्रे मण्डनदेउपुर–९ की ३० वर्षीया अनिता न्यौपाने र ३२ वर्षीय प्रबिन तिवारीलाई पनि टाउकोमा चोट लागेपछि धुलिखेल पठाइएको छ । ठेगाना नखुलेका प्रशान्त के.सी.को अनुहार र खुट्टामा गम्भीर चोट लागेको छ ।

अन्य घाइतेहरूको उपचार आत्मीय सामुदायिक अस्पताल खाल्टेमा भइरहेको छ । उनीहरूमा अधिकांशलाई सामान्यदेखि मध्यम खालका चोट लागेको चिकित्सकहरूले बताएका छन् । झापाका विभिन्न स्थानका यात्रुहरू घाइतेमध्ये रहेका छन्, जसमा बालिका संस्कृती यादव, कल्पना राई, अमेश खड्का, अमृत राना मगर र दिनप्रसाद सिग्देल लगायत छन् ।

प्रतिक्रिया