शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

प्रकाशोदयका विद्यार्थीलाई स्व.मिश्रको स्मृतिमा शैक्षिक सहयोग

बुधवार , चैत्र १८, २०८२

सिन्धुली,१८ चैत,– जिल्लाको  फिक्कल गाउँपालिका वडा नम्बर २  खुरहरी खोलागाउँस्थित श्री प्रकाशोदय माध्यमिक विद्यालयका विद्यार्थीहरूका लागि एक प्रेरणादायी सहयोग कार्यक्रम सम्पन्न भएको छ । विद्यालयका   संस्थापक प्रधानाध्यापक स्वर्गीय कुशेश्वर मिश्रको स्मृतिमा उहाँका सुपुत्र श्री श्रवण बहादुर सिंह मिश्रको पहलमा विद्यालयमा अध्ययनरत सम्पूर्ण २९६ विद्यार्थीलाई ट्र्याकसुट र टि–सर्ट वितरण गरिएको हो ।

कार्यक्रमका क्रममा ३१५ थान ट्र्याकसुट र ३१५ थान टि–सर्ट उपलब्ध गराइएको छ, जसले विद्यार्थीहरूलाई समान पोशाकमा विद्यालय उपस्थित हुन सहज बनाउने विश्वास गरिएको छ । यससँगै विद्यालयको प्रशासनिक तथा शैक्षिक कार्यलाई थप सहज बनाउन एक थान क्यानन प्रिन्टरसमेत हस्तान्तरण गरिएको विद्यालय प्रशासनले जनाएको छ ।

विद्यालय परिसरमा बुधवार आयोजित कार्यक्रममा स्थानीय अभिभावक, शिक्षक, विद्यार्थी तथा जनप्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक तोयानाथ बरालले यस्तो सहयोगले विद्यार्थीहरूको मनोबल वृद्धि हुनुका साथै विद्यालयप्रतिको आकर्षण बढ्ने बताएका छन् । “यस किसिमको सहयोगले शिक्षाको गुणस्तर अभिवृद्धिमा टेवा पु¥याउँछ,” उनले भने ।

सहयोगदाता श्री श्रवण बहादुर सिंह मिश्रले आफ्ना दिवंगत पिताको योगदानलाई स्मरण गर्दै शिक्षाक्षेत्रमा केही योगदान पु¥याउने उद्देश्यले उक्त सामग्री वितरण गरिएको बताए । “बुबाले यस विद्यालयको स्थापना र विकासमा महत्वपूर्ण भूमिका खेल्नुभएको थियो । उहाँको स्मृतिमा विद्यार्थीहरूको लागि सानो सहयोग गर्न पाउँदा गर्व महसुस गरेको छु,” उनले उल्लेख गरे ।

विद्यार्थीहरू पनि नयाँ पोशाक पाउँदा उत्साहित देखिएका थिए । उनीहरूले यसले आफूहरूलाई विद्यालयप्रति थप जिम्मेवार र अनुशासित बनाउने प्रतिक्रिया दिएका छन्। अभिभावकहरूले समेत यस्ता पहलले ग्रामीण क्षेत्रमा शिक्षाको विकासमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका छन् ।

स्थानीय तहका प्रतिनिधिहरूले पनि यस्तो सामाजिक उत्तरदायित्वपूर्ण कार्यको प्रशंसा गर्दै अन्य व्यक्तिहरूलाई समेत शिक्षामा लगानी गर्न प्रेरित गरेका छन्। उनीहरूले विद्यालयको समग्र विकासका लागि सामुदायिक सहकार्य आवश्यक रहेकोमा जोड दिएका छन् ।

यस प्रकारको सहयोगले विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई प्रत्यक्ष लाभ पुग्नुका साथै शिक्षाप्रति सकारात्मक वातावरण निर्माण हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया