सिन्धुली,१८ चैत — जिल्लामा सञ्चालन भइरहेका स्वास्थ्य कार्यक्रमको प्रभावकारिता, उपलब्धि र चुनौतीबारे सञ्चारकर्मीलाई जानकारी गराउने उद्देश्यले बुधबार एक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय, सिन्धुली अस्पताल तथा जिल्ला आयुर्वेद तथा वैकल्पिक चिकित्सालयको संयुक्त आयोजनामा सम्पन्न उक्त कार्यक्रममा स्वास्थ्य क्षेत्रका प्रमुख सरोकारवालाले जिल्लाको यथार्थ अवस्था सार्वजनिक गरेका हुन् ।
कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख विमल पटेलले जिल्लामा अझै पनि घरमै सुत्केरी गराउने प्रचलन गम्भीर समस्याका रूपमा रहेको उल्लेख गरे । उनका अनुसार चालु आर्थिक वर्षमा मात्र ९३ जना महिलाले घरमै सुत्केरी गराएको तथ्यांक रहेको छ, जसले सुरक्षित मातृत्व कार्यक्रमको प्रभावकारितामा चुनौती थपेको छ । साथै, २० वर्षभन्दा कम उमेरमा सुत्केरी हुने दर पनि चिन्ताजनक रहेको उनले बताए । यस्तो अवस्थाले मातृ तथा शिशु स्वास्थ्यमा दीर्घकालीन असर पार्ने भएकाले सचेतना र पहुँच विस्तार अपरिहार्य भएको उनको भनाइ थियो ।
त्यसैगरी, सिन्धुली अस्पतालका निर्देशक डाक्टर सुसान्त कुमार खड्काले अस्पतालले पछिल्लो समय सेवा विस्तारमा उल्लेखनीय प्रगति गरेको जानकारी दिए । उनका अनुसार अस्पतालमा विद्युतीय स्वास्थ्य अभिलेख प्रणाली (ईएमआर) को सुरुवात र सञ्चालन, नाक–कान–घाँटी सम्बन्धी उपचार सेवा विस्तार तथा काउन्टर सेवा विस्तार प्रमुख उपलब्धि रहेका छन् । यद्यपि, स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गत औषधि वितरणमा देखिएको समस्या, दरबन्दीअनुसार चिकित्सक तथा स्वास्थ्यकर्मीको अभाव भने अझै समाधान हुन नसकेको चुनौतीका रूपमा रहेको उनले स्पष्ट पारे ।
उता जिल्ला आयुर्वेद तथा वैकल्पिक चिकित्सालय सिन्धुलीमा भने बिरामीको आकर्षण क्रमशः बढ्दै गएको छ । कार्यालयका निमित्त प्रमुख दिपकराज तिमल्सेनाले आयुर्वेदिक उपचारप्रति नागरिकको विश्वास बढ्दै गएकाले सेवा लिन आउने बिरामीको संख्या वृद्धि भएको जानकारी दिए । उनले संस्थाको भौतिक तथा वित्तीय प्रगति विवरण प्रस्तुत गर्दै सीमित स्रोतसाधनका बाबजुद सेवा प्रवाह सुधार गर्ने प्रयास जारी रहेको उल्लेख गरे ।
अन्तरक्रिया कार्यक्रममा सहभागी सञ्चारकर्मीहरूले स्वास्थ्य सेवाको पहुँच, गुणस्तर, बीमा प्रणाली, औषधि उपलब्धता लगायतका विषयमा जिज्ञासा राखेका थिए । ती प्रश्नहरूको जवाफ जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख विमल पटेल, सिन्धुली अस्पतालका निर्देशक डाक्टर सुसान्त खड्का, आयुर्वेद कार्यालयका निमित्त प्रमुख दिपकराज तिमल्सेना तथा खोप निरीक्षक पुष्पराज पन्तले दिएका थिए ।
कार्यक्रमले जिल्लाको स्वास्थ्य क्षेत्रको वर्तमान अवस्था उजागर गर्नुका साथै सुधारका लागि आवश्यक रणनीति र सहकार्यको आवश्यकता औँल्याएको छ । सरोकारवालाले स्वास्थ्य सेवामा पहुँच विस्तार, जनचेतना अभिवृद्धि तथा जनशक्ति व्यवस्थापनमा जोड दिए मात्र समग्र स्वास्थ्य अवस्था सुधार हुने निष्कर्ष समेत कार्यक्रममा निकालिएको थियो ।