शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

खाजा समयमा पनि अब सेवा अवरुद्ध नहुने

बुधवार , चैत्र १८, २०८२


सिन्धुली,१८ चैत  — कमलामाई नगरपालिकाले आफ्नो कार्यालय तथा मातहतका सम्पूर्ण निकायहरूमा सेवाग्राहीलाई प्रदान गरिने सेवामा कुनै अवरोध नआउने गरी नियमित सेवा प्रवाह सुनिश्चित गरिएको जनाएको छ । नगर कार्यपालिकाको कार्यालय, सिन्धुलीमाढीबाट  बुधधवार जारी गरिएको एक सार्वजनिक सूचनामार्फत यस्तो जानकारी दिइएको हो ।

सूचनामा नगरपालिकाअन्तर्गत कार्यरत कर्मचारीहरूलाई सेवाग्राहीलाई दिइने सेवा, विशेषतः खाजा समयजस्ता अवधिमा समेत, प्रभावित नहुने गरी व्यवस्थापन गर्न निर्देशन दिइएको उल्लेख छ । सेवाग्राहीले कुनै पनि समयमा सेवा लिन आउँदा अनावश्यक ढिलाइ वा अवरोध नहोस् भन्ने उद्देश्यले यस्तो व्यवस्था मिलाइएको नगरपालिकाले स्पष्ट पारेको छ ।

नगरपालिकाका अनुसार सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी, निरन्तर र नागरिकमैत्री बनाउन यो निर्णय गरिएको हो । यसले सेवाग्राहीको समयको सम्मान गर्दै सरकारी सेवा प्रणालीप्रति जनविश्वास अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ । सेवा प्रवाहमा अनुशासन र उत्तरदायित्व कायम राख्न कर्मचारीहरूलाई विशेष ध्यान दिन आग्रह गरिएको छ ।

सूचनामा नागरिकहरूलाई सेवासम्बन्धी जानकारी दिन तथा पारदर्शिता कायम राख्न यस प्रकारको सार्वजनिक जानकारी जारी गरिएको पनि जनाइएको छ । यसले सेवाग्राहीलाई सेवा लिने क्रममा हुने सम्भावित असहजता हटाउने विश्वास लिइएको छ ।

कमलामाई नगरपालिकाको यो पहलले स्थानीय तहको सेवा प्रवाहलाई थप व्यवस्थित र प्रभावकारी बनाउने दिशामा सकारात्मक सन्देश दिएको छ। नागरिकमैत्री प्रशासनको अवधारणालाई व्यवहारमा उतार्ने यस कदमलाई सरोकारवालाहरूले स्वागतयोग्य कदमका रूपमा लिएका छन् ।

प्रतिक्रिया