काठमाडौं,१५ चैत — श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारका उच्च पदाधिकारीहरूको दैनिक स्वास्थ्य र आचरण परीक्षण आवश्यक रहेको बताएका छन् । सामाजिक सञ्जालमार्फत सार्वजनिक अभिव्यक्ति दिँदै उनले प्रधानमन्त्रीदेखि मन्त्री र सांसदसम्मका सबै व्यक्तिहरूको मादक पदार्थ सेवन (मापसे) तथा लागू पदार्थ सेवन (लापसे) सम्बन्धी नियमित जाँच अनिवार्य गर्नुपर्ने धारणा राखेका हुन् ।
साम्पाङका अनुसार राष्ट्रको नेतृत्व गर्ने व्यक्तिहरूको शारीरिक तथा मानसिक अवस्था सुदृढ रहनु देशको समग्र स्वास्थ्य र सुशासनसँग प्रत्यक्ष सम्बन्धित हुन्छ । उनले यस्तो परीक्षणलाई केवल व्यक्तिगत अनुशासनको विषय नभई राष्ट्रिय हितसँग जोडिएको आवश्यक अभ्यासका रूपमा प्रस्तुत गरेका छन् ।
उनले सार्वजनिक रूपमा उल्लेख गरेका छन् कि राज्य सञ्चालनमा संलग्न व्यक्तिहरूले उच्च जिम्मेवारी वहन गर्ने भएकाले उनीहरूको व्यवहार पारदर्शी, अनुशासित र उत्तरदायी हुनुपर्ने आवश्यकता झनै बढ्दो छ । यस सन्दर्भमा नियमित परीक्षणले जनविश्वास अभिवृद्धि गर्न सहयोग पुग्ने उनको विश्वास छ ।
साम्पाङको उक्त प्रस्तावले राजनीतिक वृत्तमा नयाँ बहसको सुरुआत गराएको छ । केहीले यसलाई सुशासन प्रवद्र्धनतर्फको कदमका रूपमा लिएका छन् भने अन्यले यस विषयमा कानुनी तथा व्यावहारिक पक्षको गम्भीर अध्ययन आवश्यक रहेको औँल्याएका छन् ।