शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

रोसी खोलाको बाढीपछि अवरुद्ध बीपी राजमार्ग पुनः सञ्चालनमा

आइतवार , चैत्र १५, २०८२

काभ्रेपलाञ्चोक,१५ चैत  — रोसी खोलामा आएको आकस्मिक बाढीका कारण अवरुद्ध बनेको बीपी राजमार्ग आइतबार बिहानदेखि पुनः सञ्चालनमा आएको छ । शुक्रबार साँझदेखि वर्षासँगै आएको बाढीले राजमार्ग अन्तर्गतका विभिन्न स्थानमा निर्माण गरिएका अस्थायी डाइभर्सन सडक बगाउँदा यातायात पूर्ण रूपमा ठप्प बनेको थियो ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार चौकीडाँडादेखि नेपालथोकसम्मको खण्डमा बाढीले डाइभर्सन संरचना क्षतिग्रस्त बनाएपछि सवारी आवागमन अवरुद्ध भएको थियो । त्यसपछि सम्बन्धित निकायहरूले शनिबार बिहानैदेखि वैकल्पिक अस्थायी डाइभर्सन निर्माण कार्य तीव्र रूपमा अघि बढाउँदै फसेका सवारी साधनलाई सुरक्षित स्थानमा सार्ने कार्य सम्पन्न गरेका थिए ।

सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशका अनुसार शनिबार साँझसम्म आवश्यक अस्थायी संरचना तयार पारेर फसेका सवारी साधनको व्यवस्थापन गरिएको र आइतबार बिहानदेखि नियमित सवारी आवागमन पुनः सुरु गरिएको हो । उनले बाढीबाट प्रभावित क्षेत्रमा सावधानीपूर्वक यात्रा गर्न सर्वसाधारणलाई आग्रह गरे ।

उक्त बाढीले चौकीडाँडा, कटुञ्जे घुमाउने, चारसयबेशी, गिम्दी, चिउरीबास, बोक्सीकुना, कालढुङ्गा, डालाबेशी तथा पिप्ले–सुख्खापहिरो क्षेत्रसम्मका करिब पाँच किलोमिटर सडक खण्डमा डाइभर्सन बगाएको थियो । ती सबै स्थानमा पुनः अस्थायी डाइभर्सन निर्माण गरी यातायात सञ्चालनमा ल्याइएको जनाइएको छ ।

यसअघि गत वर्ष असोज महिनामा आएको बाढीले पनि बीपी राजमार्गको एक नम्बर पुलदेखि नेपालथोकसम्मको करिब २८ किलोमिटर सडकमा व्यापक क्षति पु¥याएको थियो, जसमा काभ्रेपलाञ्चोकतर्फ मात्र २५ किलोमिटर सडक प्रभावित भएको थियो ।

हाल उक्त राजमार्गको विभिन्न खण्डमा पुनर्निर्माण कार्य जारी रहेको छ । काभ्रेपलाञ्चोकतर्फ चार तथा सिन्धुलीतर्फ एक गरी पाँच खण्डमा निर्माण कार्य भइरहेको सडक डिभिजनले जनाएको छ । डालाबेशीदेखि चारसयबेशीसम्मको ८.५ किलोमिटर सडक निर्माणका लागि खानी–कमलजीत–एवान जेभीसँग एक अर्ब २२ करोड रुपैयाँ तथा चारसयबेशीदेखि भकुण्डेबेशीसम्मको ११ किलोमिटर सडकका लागि लामा–नवकान्तिपुर जेभीसँग एक अर्ब १४ करोड रुपैयाँमा ठेक्का सम्झौता भई काम भइरहेको छ ।

त्यसैगरी डालाबेशीदेखि सुख्खापहिरोसम्मको २.३ किलोमिटर सडक पुनर्निर्माणका लागि उमा–भण्डारी–अमरज्योति जेभीसँग ६८ करोड ५८ लाख रुपैयाँको सम्झौता भई कार्य सुरु भइसकेको छ । पिप्ले (सुख्खापहिरो)देखि डालाबेशीसम्मको करिब ३.२२ किलोमिटर सडक पुनर्निर्माण जाइकाले गर्ने भए पनि सो खण्डमा कार्य प्रारम्भ हुन बाँकी रहेको छ ।

हालसम्म तीन खण्डमा करिब २६ प्रतिशत भौतिक प्रगति भएको र आगामी वर्षायामसम्म खोलाको स्वाभाविक बहाव कायम राख्दै सुरक्षित यातायात सञ्चालन हुने गरी काम अघि बढाइएको सम्बन्धित निकायले जनाएको छ ।

प्रतिक्रिया