सिन्धुली,१४ चैत — आर्थिक अभावका कारण उच्च शिक्षाबाट वञ्चित हुनुपर्ने अवस्था अन्त्य गर्ने लक्ष्यसहित सिद्धज्योति शिक्षा क्याम्पसले दिगो अक्षयकोष स्थापना अभियानको औपचारिक सुरुवात गरेको छ । “हाम्रो क्याम्पस, हाम्रै लगानी; स्तरीय पठन र समृद्धिको सुनौलो बिहानी” भन्ने मूल नाराका साथ सुरु गरिएको उक्त अभियानले शैक्षिक क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउने विश्वास गरिएको छ ।
क्याम्पस प्रशासनका अनुसार एक करोड पचास लाख रुपैयाँको लक्ष्यसहित स्थापना गरिएको यो अक्षयकोष विशेषगरी आर्थिक रूपमा कमजोर, असहाय तथा जेहेन्दार विद्यार्थीहरूको शैक्षिक भविष्य सुरक्षित गर्न केन्द्रित रहनेछ । आर्थिक अभावकै कारण बीचैमा पढाइ छाड्नुपर्ने, विदेश पलायन हुनुपर्ने तथा जीवनभर गरीबीसँग संघर्ष गर्नुपर्ने बाध्यता न्यूनीकरण गर्ने उद्देश्यले यो पहल अघि बढाइएको हो ।
अभियानको सुरुवाती दिनमै उत्साहजनक सहयोग प्राप्त भएको क्याम्पसले जनाएको छ । विभिन्न दानवीर तथा शिक्षाप्रेमी व्यक्तिहरूबाट शनिवारनै पाँच लाख तेइस हजार दुई सय तेत्तीस रुपैयाँ रकम अक्षयकोषमा जम्मा गरिएको छ । क्याम्पस परिवारले यस सहयोगलाई अत्यन्तै महत्त्वपूर्ण प्रारम्भिक कदमका रूपमा लिँदै दाताहरूप्रति मुक्त कण्ठले प्रशंसा व्यक्त गरेको छ ।
क्याम्पस प्रमुख नाािबाबु घिमिरेले भने, “यो अक्षयकोष केवल आर्थिक स्रोत होइन, यो हाम्रो सामूहिक प्रतिबद्धताको प्रतीक हो। समाजका हरेक तहका व्यक्तिहरूको साथ र सहयोगले मात्र हामीले शिक्षामा समान पहुँच सुनिश्चित गर्न सक्छौ ं।” उनका अनुसार आगामी दिनमा अझ व्यापक रूपमा सहयोग संकलन अभियान सञ्चालन गरिनेछ ।
शिक्षा क्षेत्रमा लगानी बढाउँदै गुणस्तरीय शिक्षाको पहुँच विस्तार गर्ने लक्ष्यसहित सुरु गरिएको यस अभियानले स्थानीय समुदायमा पनि सकारात्मक सन्देश दिएको छ । अभिभावक, पूर्वविद्यार्थी तथा विभिन्न संघसंस्थाहरूले समेत यस पहललाई स्वागत गर्दै सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
क्याम्पसले सबै शिक्षाप्रेमी, समाजसेवी तथा सरोकारवालाहरूलाई यस पुण्य कार्यमा हातेमालो गर्न आग्रह गरेको छ । “शिक्षामा गरिएको लगानी नै दीर्घकालीन समृद्धिको आधार हो,” क्याम्पसले उल्लेख गरेको छ ।
यो अक्षयकोषले भविष्यमा सयौं विद्यार्थीलाई निरन्तर अध्ययनको अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ । शिक्षाको उज्यालोले समाज रूपान्तरण गर्ने विश्वासका साथ सुरु गरिएको यो अभियानले दीर्घकालीन रूपमा समृद्ध समाज निर्माणमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास लिइएको छ ।