शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

कमलामाईनगरपालिकाको २९औँ स्थापना दिवस

समृद्धि र सेवा प्रवाहमा प्रतिबद्धता दोहोर्‍याइयो

शनिवार , चैत्र १४, २०८२

 

सिन्धुली,१४ चैत – कमलामाई नगरपालिका, सिन्धुलीले आफ्नो २९औँ स्थापना दिवस विविध कार्यक्रमका साथ सम्पन्न गरेको छ । नगर प्रमुख श्री उपेन्द्र कुमार पोखरेलको अध्यक्षतामा आयोजित उक्त समारोहमा नगर उपप्रमुख श्री मन्जु देवकोटा, वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, निमित्त प्रमुख प्रशासकीय अधिकृत, शाखा प्रमुखहरू तथा कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख पोखरेलले स्थापना दिवसलाई नगरको इतिहास, पहिचान र विकास यात्राको स्मरण गर्ने महत्वपूर्ण अवसरका रूपमा व्याख्या गरे । उनले नगरलाई थप समृद्ध, व्यवस्थित र दिगो विकासतर्फ उन्मुख गराउन स्थानीय तहको नेतृत्वले निरन्तर प्रयास गरिरहने प्रतिबद्धता व्यक्त गरे । नगरको समग्र विकासमा जनप्रतिनिधि, कर्मचारी र नागरिकबीचको सहकार्य अपरिहार्य रहेको उल्लेख गर्दै उनले साझा जिम्मेवारी र उत्तरदायित्वमा जोड दिए 

त्यसैगरी नगर उपप्रमुख देवकोटाले नागरिकको सेवामा समर्पित रहने दृढ अठोट व्यक्त गरिन । उनले नगरलाई स्वच्छ, सुन्दर र व्यवस्थित बनाउने अभियानमा सबै नगरवासीको सक्रिय सहभागिता आवश्यक रहेको बताउँदै विकास योजनाहरू समयमै सम्पन्न गर्ने र सेवा प्रवाहलाई सहज, प्रभावकारी तथा पारदर्शी बनाउनेतर्फ विशेष ध्यान दिने प्रतिबद्धता जनाइन ।

कार्यक्रममा वडा अध्यक्षहरूको तर्फबाट कमलामाई नगरपालिका वडा नम्बर ११ का अध्यक्ष श्री राम बहादुर थिङले शुभकामना मन्तव्य व्यक्त गर्दै नगरको आगामी दिनहरू अझ प्रगतिशील र उपलब्धिमूलक बन्ने विश्वास व्यक्त गरे  । उनले समन्वय, सहकार्य र जनसहभागितामार्फत विकासलाई तीव्रता दिन सकिने धारणा राखे । उक्त समारोहको सञ्चालन प्रशासन शाखा प्रमुख श्री सागर कुमार ढकालले गरे थिए ।

स्थापना दिवसका अवसरमा नगरको विगत उपलब्धिहरूको समीक्षा गर्दै आगामी योजनाहरूलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ । यस अवसरले नगरलाई समुन्नत, व्यवस्थित र नागरिकमैत्री बनाउने साझा संकल्पलाई अझ मजबुत बनाएको सहभागीहरूले बताएका छन् ।

प्रतिक्रिया