सिन्धुली,१२ चैत — कमलामाई नगरपालिका वडा नं. १४ ले बालबालिकाको हक, हित तथा अधिकार सुनिश्चित गर्ने उद्देश्यका साथ वडास्तरीय बालअधिकार समिति र बालमैत्री स्थानीय शासन वडा समिति गठन गरेको छ । स्थानीय तहमा बालमैत्री वातावरण निर्माण गर्दै समावेशी र उत्तरदायी शासन प्रणाली प्रवद्र्धन गर्ने लक्ष्यसहित उक्त समिति गठन गरिएको हो ।
बिहिवार भएको कार्यक्रममा बालबालिकाको संरक्षण, सहभागिता, विकास र बाँच्न पाउने अधिकारलाई स्थानीय तहबाट प्रभावकारी रूपमा कार्यान्वयन गर्ने विषयमा छलफल गरिएको थियो ।
कार्यक्रममा वक्ताहरूले बालमैत्री स्थानीय शासनको अवधारणालाई व्यवहारमा रूपान्तरण गर्न सबै सरोकारवालाबीच सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए । विशेषगरी बालश्रम न्यूनीकरण, बालविवाह अन्त्य, गुणस्तरीय शिक्षा सुनिश्चितता तथा सुरक्षित वातावरण निर्माणका लागि स्थानीय तहको सक्रिय भूमिका अपरिहार्य रहेको उल्लेख गरिएको थियो ।
वडा अध्यक्ष राजन न्यौपानेले बालमैत्री वडा निर्माण केवल नीतिगत घोषणा मात्र नभई व्यवहारिक कार्यान्वयनमार्फत प्राप्त गर्नुपर्ने लक्ष्य भएको बताए । उनले बालबालिकाको सुनौलो भविष्य सुनिश्चित गर्न वडा कार्यालय निरन्तर क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरे । साथै, नवगठित समितिहरूलाई प्रभावकारी रूपमा परिचालन गर्दै बालअधिकार संरक्षणका कार्यक्रमहरूलाई प्राथमिकताका साथ अघि बढाइने उनले जानकारी दिए ।
समितिहरूले आगामी दिनमा बालमैत्री सूचकहरू पूरा गर्ने, बाल सहभागिता अभिवृद्धि गर्ने, विद्यालय तथा समुदायस्तरमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने तथा सरोकारवालाबीच समन्वय सुदृढ गर्ने कार्यमा केन्द्रित रहने जनाइएको छ ।
वडा अध्यक्ष श्री राजन न्यौपानेको अध्यक्षतामा कार्यक्रममा वडा सदस्यहरू, महिला, बालबालिका तथा समाज कल्याण शाखाका प्रमुख एवं कर्मचारीहरू, वडा सचिव, स्वास्थ्य स्वयंसेविकाहरू, टोल विकास संस्थाका प्रतिनिधिहरू, विभिन्न विद्यालयका प्रधानाध्यापकहरू तथा सामाजिक संस्थाहरूका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
यस पहलले स्थानीय तहमा बालमैत्री शासन प्रणालीलाई संस्थागत गर्दै बालबालिकाको समग्र विकासमा सकारात्मक योगदान पुग्ने विश्वास गरिएको छ । कमलामाई–१४ को यो कदम अन्य वडाहरूका लागि पनि उदाहरणीय बन्न सक्ने अपेक्षा गरिएको छ ।