काठमाडौं,१२ चैत — धर्मसंस्कृति र ज्योतिषका अध्येता डा. देवेन्द्र प्रसाद पाठकले परम्परागत दृष्टिले हेर्दा चैते दशैं वडादशैंभन्दा बढी महत्वपूर्ण पर्व रहेको बताएका छन् । उनका अनुसार वैदिक सनातन परम्परामा चैत्र महिनामा पर्ने नवरात्र र त्यससँग सम्बन्धित राम नवमीले विशेष धार्मिक तथा सांस्कृतिक अर्थ बोकेको छ ।
उनले नवरात्र चार प्रकारका हुने उल्लेख गर्दै शारदीय, वासन्तीय (चैत्र), तथा दुई गुप्त नवरात्रको व्याख्या गरे । गुप्त नवरात्र मन्त्र तथा तन्त्र सिद्धिका लागि विशेष मानिने भए पनि सर्वसाधारणका लागि शारदीय र चैत्र नवरात्र प्रमुख रहेको उनको भनाइ छ । यिनैमध्ये चैत्र नवरात्र, जसलाई चैते दशैंका रूपमा चिनिन्छ, वैदिक परम्परामा अत्यन्त महत्वपूर्ण मानिएको उनले स्पष्ट पारे ।
डा. पाठकका अनुसार भगवान् रामले रावणमाथि विजय प्राप्त गरेको, १४ वर्षको वनवास समाप्त गरी अयोध्या फर्किएको तथा रामको जन्मसँग जोडिएको शुभ अवसरकै रूपमा चैते दशैं मनाउने परम्परा सुरु भएको हो । “दैवी शक्तिले आसुरी शक्तिमाथि विजय प्राप्त गरेको प्रतीकका रूपमा यस पर्वको महत्व अझ गहिरो छ,” उनले भने ।
यद्यपि, पछिल्ला समयहरूमा राज्यको प्राथमिकता र सामाजिक व्यवहारका कारण वडादशैं बढी लोकप्रिय बनेको उनको विश्लेषण छ । मौसम, खेतीपातीको चक्र, आवतजावतको सहजता र सरकारी व्यवस्थापनले पनि वडादशैंलाई बढी व्यापक बनाएको उनको धारणा छ । “चैते दशैंको धार्मिक महत्त्व कम छैन, तर व्यवहारमा भने ओझेलमा परेको देखिन्छ,” उनले उल्लेख गरे ।
चैते दशैंसँगै मनाइने राम नवमीको विशेष महत्व रहेको उनले बताए । यस दिन बिहानै स्नान गरी पूजा कोठामा रामको मूर्ति वा तस्वीर स्थापना गरेर विशेष पूजा गर्ने चलन रहेको छ । साथै, रामायण पाठ, कथा वाचन तथा पारायण गर्ने परम्परा पनि प्राचीनकालदेखि चल्दै आएको छ ।
नेपालमा यो पर्व दुई भिन्न शैलीमा मनाउने चलन रहेको उनले बताए। आर्य परम्परामा पूजापाठ, कीर्तन र प्रसाद अर्पण गरेर मनाइने भए पनि केही समुदायमा बलि दिने वा धनुष चलाउने परम्परा पनि रहेको पाइन्छ ।
रामको जन्मस्थल सम्बन्धी विषयमा विवाद उठ्ने गरेको सन्दर्भमा डा. पाठकले धार्मिक आस्थालाई सम्मान गर्नुपर्नेमा जोड दिए । “राम साझा आस्था हुन्, त्यसलाई अनावश्यक विवादमा तान्नु उपयुक्त हुँदैन,” उनले भने ।
यसरी हेर्दा, धार्मिक र सांस्कृतिक दृष्टिले चैते दशैंको गहिरो जरा भए पनि व्यवहारमा भने वडादशैंले प्रमुख स्थान ओगटेको देखिन्छ ।