सिन्धुली,११ चैत — कमलामाई नगरपालिका–५ स्थित जनज्योति माध्यमिक विद्यालय, फोस्रेटारले विद्यार्थीको स्वास्थ्य, पोषण र व्यवहारिक शिक्षालाई एकैसाथ प्रवद्र्धन गर्ने उद्देश्यले विद्यालयमै उत्पादन गरिएको खाद्य सामग्रीलाई दिवा खाजामा प्रयोग गर्ने नवीन अभ्यास सुरु गरेको छ । स्थानीय स्रोत र श्रमलाई उपयोग गर्दै विद्यालयले आत्मनिर्भरता तर्फ महत्वपूर्ण कदम अघि बढाएको हो ।
विद्यालय परिसरमै उत्पादित अर्गानिक तरकारी, फलफूल तथा पशुपन्छीजन्य सामग्रीलाई खाजाको रुपमा प्रयोग गर्न थालिएपछि विद्यार्थीले ताजा, सुरक्षित र पोषिलो भोजन पाउन थालेका छन् । यस पहलले बजारमा निर्भरता घटाउनुका साथै विद्यालयको खर्च व्यवस्थापनमा समेत सकारात्मक प्रभाव पारेको विद्यालय प्रशासनले जनाएको छ ।
प्रधानाध्यापक योगेन्द्र प्रसाद अधिकारीका अनुसार विद्यालयले हप्ताको अधिकांश दिन आफ्नै उत्पादनबाट खाजा व्यवस्थापन गर्दै आएको छ । “विद्यार्थीलाई आफ्नै उत्पादनको खाना खुवाउँदा उनीहरूको स्वास्थ्यमा सुधार देखिएको छ,” उनले भने, “यसले विद्यालयको आर्थिक भार पनि घटाएको छ र आत्मनिर्भर बन्ने दिशामा सहयोग पुगेको छ ।”
यस कार्यक्रमको अर्को महत्वपूर्ण पक्ष भनेको विद्यार्थीलाई प्रत्यक्ष रूपमा उत्पादन प्रक्रियामा सहभागी गराइनु हो । विद्यालयले खेतीपाती, पशुपालन तथा खाद्य उत्पादनका गतिविधिमा विद्यार्थीलाई संलग्न गराउँदै आएको छ, जसबाट उनीहरूले व्यवहारिक ज्ञान हासिल गरिरहेका छन् । यसले कक्षाकोठाभन्दा बाहिरको सिकाइलाई सशक्त बनाउँदै कृषि पेशाप्रति रुचि जगाउने अपेक्षा गरिएको छ ।
विद्यालयको यस पहलले ग्रामीण क्षेत्रका अन्य विद्यालयहरूका लागि पनि प्रेरणादायी नमूना प्रस्तुत गरेको छ । सीमित स्रोतका बाबजुद स्थानीय सम्भावनाको उपयोग गरेर शिक्षा र पोषणलाई जोड्ने प्रयासले समुदायमा सकारात्मक सन्देश प्रवाह गरेको छ ।
स्थानीय अभिभावक र समुदायले पनि यस कार्यक्रमप्रति सकारात्मक प्रतिक्रिया जनाएका छन् । आफ्ना बालबालिकाले स्वस्थ खाना पाउनुका साथै उत्पादनमूलक सीप सिकिरहेको देख्दा अभिभावक उत्साहित भएका छन् ।
विद्यालयले आगामी दिनमा उत्पादनको दायरा अझ विस्तार गर्ने योजना बनाएको छ । दीर्घकालीन रूपमा यो अभ्यासले विद्यार्थीमा आत्मनिर्भरता, सीप विकास र स्वास्थ्य सुधारमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास लिइएको छ ।