सिन्धुली,११ चैत –
नागरिकको सूचनामा पहुँच सुनिश्चित गर्दै सुशासन र पारदर्शितालाई संस्थागत गर्ने उद्देश्यले सिन्धुलीको कमलामाई नगरपालिकामा सूचनाको हकसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । ‘सूचना हाम्रो अधिकार, सुशासन र विकासको आधार’ भन्ने मूल नाराका साथ आयोजित उक्त कार्यक्रमले स्थानीय तहमा सूचना अधिकारको कार्यान्वयनलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।
राष्ट्रिय सूचना आयोग र कमलामाई नगरपालिकाको संयुक्त आयोजनामा बुधबार सिन्धुलीमाढीमा सम्पन्न कार्यक्रममा सूचना प्रवाह प्रणाली, कानुनी व्यवस्था र नागरिकको भूमिका विषयमा गहन छलफल भएको थियो । कार्यक्रममा सहभागीहरूले सूचना प्राप्ति प्रक्रियामा देखिएका व्यवहारिक चुनौतीहरू र समाधानका उपायबारे समेत आफ्ना धारणा राखेका थिए ।
कार्यक्रमका क्रममा राष्ट्रिय सूचना आयोगकी आयुक्त दुर्गा भण्डारी पौडेलले सूचना माग्ने र उपलब्ध गराउने प्रक्रियासम्बन्धी कानुनी पक्षहरू स्पष्ट पार्दै प्रभावकारी कार्यान्वयनका उपायहरू प्रस्तुत गरिन । उनले सूचना अधिकार केवल कानुनी विषय मात्र नभई नागरिक सशक्तीकरणको महत्वपूर्ण माध्यम भएको उल्लेख गर्दै स्थानीय तहले यसलाई प्राथमिकतामा राख्नुपर्ने बताइन ।
कार्यक्रमका प्रमुख अतिथि तथा नगर प्रमुख उपेन्द्र कुमार पोखरेलले स्थानीय सरकार पारदर्शी र जवाफदेही हुनका लागि सूचना अधिकार अपरिहार्य रहेको धारणा व्यक्त गरे । उनले नगरपालिकाबाट सूचना प्रवाहलाई सरल, छिटो र नागरिकमैत्री बनाउने प्रतिबद्धता व्यक्त गर्दै सुशासन प्रवद्र्धनमा सबै पक्षको सहकार्य आवश्यक रहेको औंल्याए ।
त्यसैगरी राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त डा. सुरेश प्रसाद आचार्यले अन्तरक्रियामा उठेका जिज्ञासाहरूको उत्तर दिँदै सूचना अधिकारको प्रभावकारी कार्यान्वयनका लागि सरकारी निकाय, कर्मचारी र नागरिकबीच समन्वय अपरिहार्य रहेको बताए । उनले सूचना पहुँचको सुनिश्चितता नै लोकतान्त्रिक अभ्यासको आधार भएको उल्लेख गर्दै यसले दिगो विकासमा समेत योगदान पु¥याउने विश्वास व्यक्त गरे ।
कार्यक्रममा विभिन्न वडाका अध्यक्षहरू, प्रमुख प्रशासकीय अधिकृत, वडा सदस्यहरू, शाखा प्रमुखहरू, विद्यालयका प्रधानाध्यापक, स्वास्थ्य संस्थाका प्रतिनिधि, पत्रकार तथा अन्य सरोकारवालाहरूको उल्लेख्य सहभागिता रहेको थियो । सहभागीहरूले यस्ता कार्यक्रमले स्थानीय तहमा सूचना अधिकारबारे चेतना अभिवृद्धि गर्न मद्दत पुग्ने बताएका छन् ।