सिन्धुली,१० चैत – बालबालिकाको हक, हित र अधिकार सुनिश्चित गर्दै स्थानीय तहलाई बालमैत्री बनाउने उद्देश्यका साथ कमलामाई नगरपालिका वडा नं. ८ मा महत्वपूर्ण पहल गरिएको छ । वडा अध्यक्ष श्री कोमल कुमार श्रेष्ठको अध्यक्षतामा मंगलवार आयोजित एक विशेष कार्यक्रममा वडास्तरीय बालअधिकार समिति तथा बालमैत्री स्थानीय शासन वडा समिति गठन गरिएको छ ।
कार्यक्रममा सहभागीहरूले बालअधिकारको संरक्षण र प्रवद्र्धनका विषयमा आफ्नो धारणा राख्दै बालमैत्री वातावरण निर्माणको आवश्यकतामा जोड दिएका थिए । कार्यक्रमका अध्यक्ष वडा अध्यक्ष श्रेष्ठले बालबालिका राष्ट्रको भविष्य मात्र नभई वर्तमानका महत्वपूर्ण नागरिक भएको उल्लेख गर्दै उनीहरूको समुचित विकासका लागि सबै पक्षको साझा जिम्मेवारी आवश्यक रहेको बताए । उनले वडालाई पूर्ण रूपमा बालमैत्री बनाउने लक्ष्यसहित विभिन्न योजना तथा कार्यक्रमहरू अघि बढाइने जानकारी पनि दिए ।
श्रेष्ठले बालबालिकाको उज्ज्वल भविष्य निर्माणका लागि वडा सधैं क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरे । उनले बालमैत्री वडा निर्माण केवल नारामा सीमित नराखी व्यवहारमा उतार्न सबैको सक्रिय सहभागिता आवश्यक रहेकोमा जोड दिए ।
कार्यक्रममा बालबालिकाको शिक्षा, स्वास्थ्य, संरक्षण र सहभागितालाई सुनिश्चित गर्न स्थानीय तहबाट प्रभावकारी पहल गर्नुपर्ने विषयमा व्यापक छलफल भएको थियो । साथै, बालमैत्री स्थानीय शासन कार्यान्वयनका लागि आवश्यक सूचकहरू पूरा गर्न सरोकारवालाबीच सहकार्य र समन्वयलाई अझ मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरिएको थियो ।
नवगठित बालअधिकार समिति र बालमैत्री स्थानीय शासन वडा समितिले आगामी दिनहरूमा बालमैत्री कार्यक्रमहरू सञ्चालन, अनुगमन तथा मूल्यांकन गर्ने जिम्मेवारी वहन गर्ने जनाइएको छ । यसबाट बालबालिकाको समग्र विकासमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ ।
कार्यक्रममा वडा सदस्यहरू, महिला, बालबालिका तथा समाज कल्याण शाखाका कर्मचारीहरू, वडा सचिव, स्वास्थ्य स्वयंसेविका, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरू, प्रधानाध्यापकहरू तथा बालबालिकाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । यस पहलसँगै कमलामाई–८ ले बालमैत्री शासनको दिशामा एक महत्वपूर्ण कदम अघि बढाएको छ, जसले अन्य वडाहरूलाई पनि प्रेरणा दिने विश्वास गरिएको छ ।