सिन्धुली, ८ चैत — कमलामाई नगरपालिका वडा नं. १३ मा बालअधिकार सुनिश्चित गर्दै बालमैत्री स्थानीय शासन प्रवद्र्धन गर्ने उद्देश्यले आइतवार वडास्तरीय महत्वपूर्ण कार्यक्रम सम्पन्न भएको छ । वडा अध्यक्ष केशर बहादुर कार्कीको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा बालबालिकाको हक, हित र अधिकार संरक्षणलाई प्राथमिकतामा राख्दै विभिन्न सरोकारवाला निकायहरूको सक्रिय सहभागिता देखिएको थियो ।
कार्यक्रममा वडा सदस्यहरू, महिला बालबालिका तथा समाज कल्याण शाखाका प्रमुख तथा कर्मचारीहरू, वडा सचिव, स्वास्थ्य स्वयंसेविका तथा विभिन्न विद्यालयका प्रधानाध्यापकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले बालमैत्री वातावरण निर्माणका लागि आवश्यक नीतिगत तथा व्यवहारिक पक्षबारे गम्भीर छलफल गरेका थिए ।
उक्त अवसरमा वडास्तरीय बालअधिकार समिति तथा बालमैत्री स्थानीय शासन वडा समिति गठन गरिएको छ । नवगठित समितिहरूले बालबालिकाको संरक्षण, शिक्षा, स्वास्थ्य, सहभागिता तथा समग्र विकासका क्षेत्रमा समन्वयात्मक ढंगले कार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। बालबालिकालाई हिंसा, शोषण तथा विभेदबाट मुक्त सुरक्षित वातावरण प्रदान गर्न स्थानीय तहको भूमिका अझ सशक्त बनाउने लक्ष्य राखिएको छ ।
कार्यक्रममा बोल्दै वडा अध्यक्ष कार्कीले बालबालिकाको उज्ज्वल भविष्य निर्माणका लागि सबै पक्षको सहकार्य अपरिहार्य रहेको उल्लेख गरे। उनले वडालाई पूर्ण रूपमा बालमैत्री बनाउने अभियानमा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाउँदै स्थानीय समुदाय, विद्यालय र अभिभावकलाई समेत सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरे ।
त्यसैगरी, सहभागी सरोकारवालाहरूले बालमैत्री सूचकहरू कार्यान्वयन गर्दै वडालाई उदाहरणीय बनाउने प्रतिवद्धता जनाएका छन्। बालबालिकाको आवाज सुन्ने, उनीहरूको सहभागिता सुनिश्चित गर्ने र उनीहरूको अधिकारको संरक्षण गर्ने कार्यमा निरन्तर सक्रिय रहने सहमति समेत कार्यक्रममा व्यक्त गरिएको थियो ।
बालमैत्री स्थानीय शासनको अवधारणा कार्यान्वयनसँगै बालबालिकाको सर्वाङ्गीण विकासमा सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ । यसले दीर्घकालीन रूपमा समृद्ध, सचेत र जिम्मेवार नागरिक निर्माणमा टेवा पु¥याउने अपेक्षा गरिएको छ ।
वडालाई बालमैत्री वडाको रूपमा स्थापित गर्दै बालबालिकाको सुनौलो भविष्य निर्माणका लागि यस्ता कार्यक्रमहरू निरन्तर रूपमा सञ्चालन गरिने जनाइएको छ ।