सिन्धुली,८ चैत — सिन्धुली जिल्लाको कमलामाई नगरपालिका–९ भिमानस्थित वी.पी. राजमार्गमा प्रहरीले लागूऔषध खैरो हिरोइनसहित दुई जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भिमान र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दीबासबाट खटिएको संयुक्त प्रहरी टोलीले नियमित चेकजाँचका क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार आइतवार दिउँसो १ बजे झापाबाट काठमाडौँतर्फ जाँदै गरेको बा ५ ख ४१९७ नम्बरको हायस गाडी जाँच गर्ने क्रममा झापा जिल्ला शिवसताक्षी नगरपालिका–६ निवासी २७ वर्षीय निशान राया शंकास्पद अवस्थामा फेला परेका थिए । शरीर तलासी गर्दा उनले लुकाई छिपाई ल्याएको ८.४५० ग्राम (प्लास्टिक बाहेक) खैरो हिरोइनजस्तो देखिने गिलो पदार्थ बरामद भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
त्यसैगरी, आइतवारनै दिउसो १ बजेर २५ मिनेटमा झापाबाट काठमाडौँतर्फ नै जाँदै गरेको बा ५ ख १९५७ नम्बरको अर्को हायस गाडी जाँच गर्ने क्रममा मोरङ जिल्ला उर्लाबारी नगरपालिका–५ निवासी २३ वर्षीय साइमन गुरुङ पक्राउ परेका हुन् । उनको साथबाट ५९० मिलिग्राम (प्लास्टिक बाहेक) खैरो हिरोइनजस्तो पदार्थ फेला परेको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीले दुबै जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य अघि बढाएको जनाएको छ । लागूऔषध ओसारपसार नियन्त्रणका लागि राजमार्ग क्षेत्रमा निगरानी कडा पारिएको र यस्ता अभियान आगामी दिनमा अझ सशक्त रूपमा सञ्चालन गरिने प्रहरीले बताएको छ ।