काठमाडौं, ८ चैत – विश्वव्यापी आतंकवाद सूचकांकमा नेपालको अवस्था विगत वर्षको तुलनामा उल्लेखनीय रूपमा सुधारिएको छ । अस्ट्रेलियाको सिड्नीस्थित स्वतन्त्र तथा गैर–नाफामूलक संस्था ‘इन्स्टिच्युट फर इकोनोमिक्स एन्ड पिस’ले सार्वजनिक गरेको सन् २०२६ को प्रतिवेदन अनुसार नेपाल ८९ औँ स्थानमा पुगेको छ । अघिल्लो वर्ष नेपाल ६८ औँ स्थानमा रहेको थियो ।
यस सुधारले नेपालमा सुरक्षा अवस्था सुदृढ बन्दै गएको र आतंकवादी गतिविधि न्यून हुँदै गएको संकेत गरेको छ । प्रतिवेदनमा सन् २०२५ भर नेपालमा कुनै पनि आतंकवादी आक्रमण वा घटना दर्ता नभएको उल्लेख गरिएको छ । माओवादी समूह राजनीतिक मूलधारमा समाहित भई सत्तारुढ गठबन्धनको हिस्सा बनेकाले पनि हिंसात्मक गतिविधि नदेखिएको विश्लेषण गरिएको छ ।
१६३ देश समेटिएको उक्त सूचकांकमा पाकिस्तान सबैभन्दा बढी आतंकवाद प्रभावित देशको रूपमा पहिलो स्थानमा रहेको छ । भारत १३ औँ स्थानमा रहेको छ, जुन अघिल्लो वर्षको तुलनामा दुई स्थानले तल झरेको हो । भारतमा पछिल्लो एक वर्षमा आतंकवादी घटनामा करिब ४३ प्रतिशतले कमी आएको पनि प्रतिवेदनले जनाएको छ ।
त्यस्तै, अफगानिस्तान ११ औँ, म्यानमार १४ औँ र बंगलादेश ४२ औँ स्थानमा रहेका छन् । भुटान र श्रीलंका भने आतंकवादी गतिविधि शून्य रहेका देशहरूको सूचीमा परेका छन्, जसले दक्षिण एसियामा केही सकारात्मक संकेत देखाएको छ ।
प्रतिवेदन अनुसार दक्षिण एसिया लगातार दस वर्षदेखि आतंकवादबाट सबैभन्दा बढी प्रभावित क्षेत्र बनेको छ । यस वर्ष पहिलो पटक पाकिस्तान शीर्ष स्थानमा उक्लिएको छ भने अफगानिस्तानको अवस्था सुधारिँदै शीर्ष १० बाहिर पुगेको छ ।
विश्वव्यापी रूपमा हेर्दा सन् २०२५ मा आतंकवादबाट हुने मृत्युमा २८ प्रतिशतले कमी आएको छ । त्यस्तै, आतंकवादी आक्रमणको संख्या करिब २२ प्रतिशतले घटेर २ हजार ९४४ मा सीमित भएको छ । कुल ८१ देशको अवस्थामा सुधार आएको छ भने १९ देशमा अवस्था बिग्रिएको देखिएको छ ।
तर, पश्चिमी देशहरूमा भने आतंकवादसँग सम्बन्धित घटनामा वृद्धि देखिएको छ । युरोपेली संघका १४ सदस्य राष्ट्रमा सन् २०२४ मा ५८ वटा आक्रमण दर्ता भएका थिए । फ्रान्समा १४ र जर्मनीमा ६ वटा घटना भएका छन् । साथै, आतंकवादसँग सम्बन्धित मुद्दामा ४४९ जनालाई पक्राउ गरिएको छ भने बेलायतमा मात्र ३ हजारभन्दा बढी व्यक्तिलाई नियन्त्रणमा लिइएको तथ्यांक सार्वजनिक गरिएको छ । समग्रमा नेपालको सुधारले क्षेत्रीय सुरक्षामा सकारात्मक सन्देश दिएको विश्लेषण गरिएको छ ।