शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

बीपी राजमार्ग पुनः सञ्चालनमा

शनिवार , चैत्र ७, २०८२

काभ्रेपलाञ्चोक,०७ चैत – अविरल वर्षासँगै रोशी खोलामा आएको बाढीका कारण अवरुद्ध भएको बीपी राजमार्ग पुनः सञ्चालनमा आएको छ । खोलाको पानीको बहाव घटेपछि बगाएका स्थानमा अस्थायी मर्मत कार्य सम्पन्न गरिएकाले सवारी आवागमन पुनः सुचारु गरिएको हो ।

यद्यपि, मौसममा सुधार पूर्ण रूपमा नभइसकेकाले सम्भावित जोखिमलाई ध्यानमा राख्दै जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले यात्रु तथा चालकलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ । राजमार्गको अवस्था बुझेर मात्र यात्रा गर्न तथा अनावश्यक जोखिम नलिन प्रशासनले अनुरोध गरेको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख प्रहरी उपरीक्षक कोमल शाहका अनुसार रोशी गाउँपालिकाको चारसयबेशी, गिम्दी, दाउन्ने र कालढुंगा क्षेत्रमा निर्माण गरिएका अस्थायी डाइभर्सन बाढीले बगाएको थियो । ती स्थानहरूमा सडक विभाग र स्थानीय तहसँगको समन्वयमा तत्काल मर्मत गरी सवारी सञ्चालनमा ल्याइएको हो ।

राजमार्ग अवरुद्ध हुँदा काभ्रेपलाञ्चोक खण्डका सवारी साधनहरू धुलिखेल, भकुण्डे र कटुन्जे क्षेत्रमा रोकिएका थिए भने सिन्धुलीबाट आउने सवारीहरूलाई दुम्जा प्रहरी चौकी तथा जिल्ला प्रहरी कार्यालय सिन्धुलीको चेकपोष्टमा रोकेर व्यवस्थापन गरिएको थियो ।

पछिल्ला वर्षहरूमा निरन्तर परेको वर्षाले रोशी खोलाले बीपी राजमार्गको भकुण्डे–नेपालथोक खण्डमा ठूलो क्षति पु¥याएको छ । हाल उक्त खण्ड पुनर्निर्माणको चरणमा रहेको छ । निर्माण अवधिभर खोलाको बगरमा अस्थायी डाइभर्सनमार्फत सवारी सञ्चालन भइरहेको छ ।

प्रशासनले वर्षा पुनः हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै यात्राका क्रममा उच्च सतर्कता अपनाउन, वैकल्पिक मार्गको जानकारी लिन र आकस्मिक अवस्थाका लागि तयारी अवस्थामा रहन सबैमा आग्रह गरेको छ ।

प्रतिक्रिया