सिन्धुली,०६ चैत — जिल्ला कारागार सिन्धुलीबाट फरार भएका एक थुनुवालाई प्रहरीले पुनः नियन्त्रणमा लिएको छ । अभद्र व्यवहार मुद्दामा थुनामा रहेका हरिहरपुरगढी गाउँपालिका–७, क्वाटर बस्ने २६ वर्षीय पुष्पराज फुँयाललाई प्रहरीले शुक्रवार बिहान नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार शुक्रवार बिहान करिब ८ः३० बजे प्रहरी चौकी क्यानेश्वरबाट प्रहरी सहायक निरीक्षक नागेन्द्र बैठाको कमाण्डमा खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । उनी जेन–जी आन्दोलनको क्रममा जिल्ला कारागारबाट भागी फरार भएका थिए ।
फुँयाल फरार भएपछि प्रहरीले उनको खोजी कार्य तीव्र पारेको थियो । सोही क्रममा उनी आफ्नै स्थायी ठेगाना हरिहरपुरगढी गाउँपालिका–७ स्थित क्वाटरमा लुकेर बसेको अवस्थामा फेला परेका हुन् । प्रहरीले गोप्य सूचनाका आधारमा उनलाई नियन्त्रणमा लिएको जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ परेका फुँयाललाई आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाउन पुनः कारागार पठाउने तयारी गरिएको छ । साथै, कारागारबाट फरार हुने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यस घटनाले कारागार सुरक्षामाथि प्रश्न उठाएको छ। स्थानीय बासिन्दाले यस्ता घटनाले सुरक्षामा चुनौती थपिने भन्दै सम्बन्धित निकायले कडा निगरानी र व्यवस्थापन गर्नुपर्ने बताएका छन् ।
प्रहरीले भने फरार अभियुक्तलाई चाँडै नियन्त्रणमा लिन सफल भएको बताउँदै भविष्यमा यस्ता घटनाको पुनरावृत्ति नहोस् भन्ने उद्देश्यले सुरक्षा व्यवस्था अझ कडा बनाउने जनाएको छ ।