शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

कारबाहीपछि गजुरेलको प्रश्नः ‘इतिहास किन विद्रुप बन्यो ?’

बिहिवार , चैत्र ५, २०८२

 

सिन्धुली,५ चैत — पार्टी कारबाहीमा परेपछि पूर्व नेकपा नेता हरिबोल गजुरेल ले सामाजिक सञ्जालमार्फत अर्थपूर्ण सन्देश दिएका छन् । उनले पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्ड, उनकी दिवंगत पत्नी सीता दाहाल तथा छोरी रेणु दाहालसँगको पुरानो तस्बिर सार्वजनिक गर्दै वर्तमान राजनीतिक प्रवृत्तिमाथि गम्भीर प्रश्न उठाएका हुन् ।

बिहीबार फेसबुकमार्फत सार्वजनिक तस्बिरसँगै गजुरेलले लेखेका छन्, “इमान्दारिताको प्रतीक मानिएको इतिहास वर्तमानमा किन र कुन पात्र तथा प्रवृत्तिगत कारणले विद्रुप बन्न पुग्यो भन्ने प्रश्नमा गहिरो घोत्लिनु आजको अनिवार्य आवश्यकता हो।” उनको यो अभिव्यक्ति पार्टीभित्रको आन्तरिक द्वन्द्व र मूल्य–मान्यतामा आएको विचलनप्रति संकेतका रूपमा हेरिएको छ ।

गत माघ १० गते गजुरेलसहित सात जनालाई पार्टी हितविपरीत गतिविधिमा संलग्न भएको आरोप लगाउँदै नेकपाले निष्कासन गरेको थियो। कारबाहीमा पर्ने अन्य नेताहरूमा महेश्वर दाहाल, कुलप्रसाद केसी, मेजर राई, धर्मनाथ साह, राजकुमारी साह र जिवछ साह रहेका थिए । पार्टी अनुशासन उल्लंघन र आधिकारिक निर्णयविपरीत गतिविधि गरेको आरोप उनीहरूमाथि लगाइएको थियो ।

सिन्धुली–२ क्षेत्रको उपनिर्वाचन यस विवादको केन्द्रमा रह्यो । उक्त क्षेत्रमा नेकपाले लेखनाथ दाहाल (राजन) लाई आधिकारिक उम्मेदवार बनाएको थियो । तर, गजुरेलले पार्टी निर्णयविपरीत महेश्वर दाहाललाई बागी उम्मेदवारका रूपमा अघि सारेपछि विवाद चर्किएको थियो । पार्टीले आधिकारिक उम्मेदवारलाई असहयोग गरेको निष्कर्ष निकाल्दै गजुरेलमाथि अनुशासनात्मक कारबाही गरेको थियो ।

फागुन २१ गते सम्पन्न निर्वाचनको परिणाम सार्वजनिक भएको करिब दुई साता बित्न नपाउँदै गजुरेलले यस्तो सन्देश सार्वजनिक गरेका हुन् । उनको अभिव्यक्तिले केवल व्यक्तिगत असन्तोष मात्र होइन, पार्टीभित्रको वैचारिक विचलन र नेतृत्वशैलीप्रति असन्तुष्टि झल्काउने विश्लेषण गरिएको छ । 


राजनीतिक वृत्तमा गजुरेलको पछिल्लो टिप्पणीलाई अर्थपूर्ण संकेतका रूपमा हेरिएको छ । विशेषतः ‘इतिहास’ र ‘इमान्दारिता’ जस्ता शब्द प्रयोग गर्दै उनले विगतका आदर्श र वर्तमान व्यवहारबीचको अन्तरप्रति प्रश्न उठाएका छन्। यसले नेकपाभित्र थप बहस र आत्ममूल्यांकनको आवश्यकता औंल्याएको विश्लेषकहरूको भनाइ छ ।

गजुरेलको यो सार्वजनिक अभिव्यक्तिले पार्टीभित्रको मतभेद अझ सतहमा ल्याउने देखिएको छ । साथै, आगामी दिनमा नेकपाको आन्तरिक राजनीतिमा यसको प्रभाव कस्तो पर्छ भन्ने विषयमा चासो बढेको छ ।

Haribol-prachand-sita-renu.jpg
undefined

प्रतिक्रिया