सिन्धुली, ५ चैत — सिन्धुली जिल्लाको कमलामाई नगरपालिका–२ चियावारीस्थित बि.पि. राजमार्ग सडक खण्डमा बिहिबार बिहान भएको सवारी दुर्घटनामा एक यात्रु घाइते भएका छन् । बिहान करिब ०६ः१५ बजेको समयमा रोकी राखिएको ट्रकले ब्याक गर्ने क्रममा विपरीत दिशाबाट काठमाडौँतर्फ जाँदै गरेको यात्रुबाहक बसलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार कमलामाई नगरपालिका–४ बस्ने २४ वर्षीय हरी प्रसाद अधिकारीले चलाएको प्र.०१–०२–००२ ख ११४७ नम्बरको ट्रकले ब्याक गर्ने क्रममा झापाको विर्तामोड नगरपालिका–५ बस्ने ३४ वर्षीय अमर बहादुर पौडेलले चलाएको प्र.०१–०१–००१ ख ४८६० नम्बरको बसलाई ठक्कर दिएको हो ।
दुर्घटनामा बसमा सवार ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका–६ बस्ने २६ वर्षीय कमल खड्का घाइते भएका छन् । उनको गाला, खुट्टा र टाउकोमा चोट लागेको छ भने अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
घाइते खड्कालाई प्रारम्भिक उपचारका लागि जिल्ला अस्पताल सिन्धुली लगिएको थियो । त्यहाँ उपचारपछि थप उपचार आवश्यक देखिएपछि दिउँसो करिब २ः०० बजे उनलाई काठमाडौँतर्फ रेफर गरिएको प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनामा संलग्न दुवै सवारी साधन र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
स्थानीयवासीले बि.पि. राजमार्गमा सवारी साधनको लापरवाही र सावधानीको अभावका कारण यस्ता दुर्घटना बढ्दै गएको गुनासो गरेका छन् । उनीहरूले सडक सुरक्षामा ध्यान दिन र ट्राफिक नियम कडाइका साथ कार्यान्वयन गर्न सम्बन्धित निकायसँग माग गरेका छन् ।