सिन्धुली,५ चैत — सिन्धुलीको सुनकोशी गाउँपालिका–६ घुमाउने चैनपुरस्थित बीपी राजमार्गमा बुधबार राति दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
प्रहरीका अनुसार मिति २०८२ चैत ४ गते राति करिब ९ बजे चैनपुरबाट खाल्टेतर्फ जाँदै गरेको बा.प्र. ०२–०२७ प ११०० नम्बरको एफजेड मोटरसाइकल र सिन्धुलीबाट काठमाडौँतर्फ जाँदै गरेको प्र.३–०२–०१४ प ८३६० नम्बरको २२० मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो । दुर्घटनामा रामेछापको मन्थली नगरपालिका–६ बस्ने करिब ४५ वर्षीय चालक डल्ले माझी गम्भीर घाइते भएका थिए ।
घटनापछि उनलाई तत्काल उपचारका लागि खाल्टेस्थित आत्मिय सामुदायिक अस्पताल लगिएको थियो । तर उपचारकै क्रममा राति करिब १०ः१५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका छन् ।
उक्त दुर्घटनामा बा.प्र. ०२–०२७ प ११०० नम्बरको मोटरसाइकल चालक सिन्धुली सुनकोशी गाउँपालिका–६ का ३२ वर्षीय कैलाश तोलाङ्गे र सोही मोटरसाइकलमा पछाडि सवार ४९ वर्षीय दिपेन्द्र के.सी. घाइते भएका छन् । उनीहरूको दाहिने खुट्टा तथा टाउकोमा मध्यम चोट लागेको प्रहरीले जनाएको छ ।
घाइते दुवैलाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि एम्बुलेन्समार्फत काठमाडौँ पठाइएको छ । हाल उनीहरूको केएमसी मेडिकल कलेज, सिनामंगलमा उपचार भइरहेको बताइएको छ ।
घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय खुर्कोटबाट प्रहरी निरीक्षक बसन्त बहादुर भुजेलको कमाण्डमा ट्राफिक प्रहरीसहित ६ जनाको टोली घटनास्थल पुगेको थियो । दुर्घटनामा संलग्न दुवै मोटरसाइकल प्रहरी नियन्त्रणमा रहेका छन् । प्रहरीले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ ।