सिन्धुली,०४ चैत — कमलामाई नगरपालिकाको आयोजनामा नगरस्तरीय आधारभूत शिक्षा (बीईई) उत्तीर्ण परीक्षा २०८२ को सञ्चालन तथा व्यवस्थापनसम्बन्धी केन्द्राध्यक्षहरूका लागि एकदिवसीय अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न भएको छ । नगरपालिकाको सभाहलमा आयोजित उक्त कार्यक्रममा आगामी कक्षा ८ को परीक्षालाई मर्यादित, व्यवस्थित र शान्तिपूर्ण रूपमा सञ्चालन गर्ने विषयमा विशेष जोड दिइएको थियो ।
अभिमुखीकरण कार्यक्रमको मुख्य उद्देश्य केन्द्राध्यक्षहरूलाई उनीहरूको जिम्मेवारीबारे स्पष्ट पार्नुका साथै परीक्षासम्बन्धी नयाँ मापदण्ड, आचारसंहिता र व्यवस्थापकीय पक्षबारे विस्तृत जानकारी गराउनु रहेको थियो। सहभागीहरूलाई परीक्षा सञ्चालनका क्रममा अपनाउनुपर्ने प्रक्रिया, विद्यार्थीमैत्री वातावरण निर्माण, अनियमितता नियन्त्रण तथा आकस्मिक अवस्थाको व्यवस्थापनजस्ता विषयमा प्रशिक्षण दिइएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि कार्यवाहक नगर प्रमुख मन्जु देवकोटाले आधारभूत तहको परीक्षा शिक्षाको गुणस्तर मापन गर्ने पहिलो खुड्किलो भएकाले यसलाई निष्पक्ष, पारदर्शी र त्रुटिरहित बनाउन सबै केन्द्राध्यक्षहरूले उच्च जिम्मेवारीका साथ काम गर्नुपर्नेमा जोड दिइन् । उनले परीक्षा व्यवस्थापनमा कुनै कमजोरी नहोस् भन्ने उद्देश्यले नगरपालिकाले आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता समेत व्यक्त गरिन् ।
त्यस्तै, प्रमुख प्रशासकीय अधिकृत तिवारीले परीक्षा सञ्चालनका क्रममा अनुशासन र पारदर्शितालाई प्राथमिकता दिन आग्रह गर्दै समन्वय र सहकार्यमार्फत मात्र सफल परीक्षा सञ्चालन सम्भव हुने बताए । उनले सबै सरोकारवालाबीचको सहकार्यलाई अझ सुदृढ बनाउनुपर्ने आवश्यकता औँल्याए ।
कार्यक्रमका स्रोत व्यक्ति कुमार प्रसाद ढकालले सहजीकरण गर्दै परीक्षा व्यवस्थापनका व्यवहारिक पक्षहरूबारे प्रस्तुति दिएका थिए। उनले केन्द्राध्यक्षहरूको भूमिका परीक्षा सफलताको मुख्य आधार भएको उल्लेख गर्दै निर्देशनहरूको पालना गर्न आग्रह गरे ।
नगरपालिकाले यस अभिमुखीकरणमार्फत परीक्षा व्यवस्थापनमा एकरूपता ल्याउने र विद्यार्थीहरूका लागि सुरक्षित तथा निष्पक्ष वातावरण सुनिश्चित गर्ने लक्ष्य लिएको जनाएको छ । कार्यक्रम शिक्षा शाखा प्रमुख नवराज बरालको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यवाहक नगर प्रमुख तथा उपप्रमुख मन्जु देवकोटाको प्रमुख आतिथ्यता तथा प्रमुख प्रशासकीय अधिकृत किरण निधि तिवारीको विशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रशासन शाखा प्रमुख, शिक्षा शाखाका कर्मचारी तथा नगर क्षेत्रभित्र रहेका विभिन्न परीक्षा केन्द्रका केन्द्राध्यक्षहरूको उल्लेख्य सहभागिता रहेको थियो ।