शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सिन्धुलीमा एक महिनामै ३७ अपराधका मुद्वा दर्ता

बुधवार , चैत्र ४, २०८२


सिन्धुली,०४ चैत — जिल्ला प्रहरी कार्यालय सिन्धुलीले फागुन महिनाको प्रगति विवरण सार्वजनिक गर्दै जिल्लामा अपराधका घटनामा उल्लेखनीय चाप देखिएको जनाएको छ । सार्वजनिक गरिएको तथ्यांकअनुसार एक महिनाको अवधिमा कुल ३७ वटा मुद्दा दर्ता भएका छन् भने १२ वटा मुद्दा फछ्र्योट भई २५ वटा मुद्दा अनुसन्धानकै क्रममा रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार ज्यानसम्बन्धी मुद्दाहरू, आत्महत्या तथा लागूऔषधसम्बन्धी घटनाहरू प्रमुख रूपमा देखिएका छन् । विष सेवन गरी मृत्युका एक घटना दर्ता भएको छ भने कर्तव्य ज्यानका १, ज्यान मार्ने उद्योगका १ र कर्तव्य ज्यानसम्बन्धी प्रयासका घटना पनि दर्ता भएका छन् । त्यस्तै, झुण्डी आत्महत्याका मात्रै १० वटा घटना दर्ता हुनु जिल्लाको लागि गम्भीर चिन्ताको विषय बनेको छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित उजुरीसमेत उल्लेख्य रूपमा आएको प्रहरीको भनाइ छ । फागुन महिनामा मात्रै १९ वटा उजुरी परेको विवरणमा उल्लेख छ । उमेर समूहका आधारमा विश्लेषण गर्दा १९ देखि २५ वर्ष उमेर समूहका १२ जना, २६ देखि ३५ वर्षका १८ जना, ३६ देखि ४५ वर्षका १८ जना, ६० वर्षभन्दा माथिका २ जना पीडित रहेको तथ्यांकले देखाउँछ ।

घरेलु हिंसाका घटनासमेत देखिएका छन् । शारीरिक र मानसिक दुवै प्रकारका गरी २ वटा उजुरी दर्ता भएका छन् । 

प्रहरीले लागूऔषध नियन्त्रणमा पनि सक्रियता देखाएको छ । फागुन महिनामा लागूऔषधसम्बन्धी ३ वटा मुद्दा दर्ता गरी ६ जनालाई पक्राउ गरिएको जनाएको छ । त्यस्तै, अवैध हतियारतर्फ भरुवा बन्दुक १ थान बरामद गरिएको छ ।

आत्महत्या सम्बन्धी विवरण झनै गम्भीर देखिएको छ । एक महिनामा ११ वटा आत्महत्याका घटना दर्ता भएका छन् । जसमा पुरुष ६, महिला ४ र बालिका १ जना रहेका छन् । उमेर समूहअनुसार विश्लेषण गर्दा अधिकांश घटना युवावर्गमा केन्द्रित रहेको देखिन्छ ।

प्रहरीका अनुसार जिल्लामा शान्ति सुरक्षाको अवस्था सामान्य रहे पनि सडक दुर्घटनाले भने चुनौती थपेको छ । फागुन महिनामा १४ वटा सवारी दुर्घटना भएका छन्, जसमा ४ जनाको मृत्यु र ३३ जना घाइते भएका छन् । दुर्घटनाको प्रमुख कारण हुस्सु कुहिरो तीव्र गति, मापसे, लापरवाही तथा साँघुरा सडक रहेको प्रहरीले जनाएको छ ।

यातायात कारबाहीअन्तर्गत ४५४ वटा सवारीमाथि कारबाही गरी ७ लाख ९३ हजार रुपैयाँ राजस्व संकलन गरिएको छ । साथै, सवारी दुर्घटना न्यूनीकरणका लागि चालक तथा सहचालकको स्वास्थ्य परीक्षण, मादक पदार्थ जाँच र सवारी साधनको यान्त्रिक परीक्षणलाई तीव्रता दिइएको छ ।

राजस्व चुहावट तथा भन्सार छलि नियन्त्रणतर्फ ३ लाख ८८ हजार ३५० रुपैयाँ बराबरका सामान बरामद गरिएको छ भने १ जनालाई पक्राउ गरिएको छ । विपद् व्यवस्थापनतर्फ ३ वटा घटना (आगलागी २ र चट्याङ १) दर्ता भएका छन्। ती घटनामा १ जनाको मृत्यु भएको छ भने केही घर तथा गोठमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

सामुदायिक प्रहरी कार्यक्रमअन्तर्गत ५२ वटा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ, जसमा १ हजार ९१५ जनाको सहभागिता रहेको छ । विद्यालय लक्षित कार्यक्रममार्फत पनि विद्यार्थीहरूलाई सचेतना दिइएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार अपराध न्यूनीकरणका लागि नियमित गस्ती, निगरानी, सूचना संकलन तथा नागरिक सचेतना कार्यक्रमलाई अझ प्रभावकारी बनाइएको छ । साथै, नागरिक सहयोग बिना अपराध नियन्त्रण सम्भव नहुने भन्दै प्रहरीले सबैलाई सहकार्यका लागि आग्रह गरेको छ ।

प्रतिक्रिया