सिन्धुली, चैत २ — सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ तल्लो बारामा किसानलाई कृषि उपकरण उपलब्ध गराउने उद्देश्यले मिनी टिलर वितरण कार्यक्रम सम्पन्न भएको छ । किसान कृषि सहकारी संस्था गोलन्जोर–७ तल्लो बारा र गोलन्जोर गाउँपालिकाको संयुक्त लगानीमा कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रमअन्तर्गत स्थानीय किसानलाई कुल ११ वटा मिनी टिलर वितरण गरिएको गाउँपालिका उपाध्यक्ष पुकार न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार कृषि कार्यलाई आधुनिक र सहज बनाउने उद्देश्यले किसानलाई कृषि यन्त्र प्रदान गरिएको हो ।
मिनी टिलर वितरण कार्यक्रमले स्थानीय किसानलाई खेतीपातीका काममा सहजता प्रदान गर्ने अपेक्षा गरिएको गाउँपालिकाले जनाएको छ । परम्परागत कृषि प्रणालीबाट आधुनिक कृषि प्रणालीतर्फ उन्मुख गराउने उद्देश्यले यस्तो कार्यक्रम सञ्चालन गरिएको उपाध्यक्ष न्यौपानेले बताउनुभयो ।
उहाँका अनुसार पछिल्लो समय श्रम अभावका कारण किसानलाई खेतीपाती गर्न कठिनाइ हुँदै आएको छ। यस्तो अवस्थामा कृषि यन्त्रको प्रयोगले खेत जोत्न तथा अन्य कृषि कार्यलाई छिटो, सहज र प्रभावकारी बनाउन मद्दत पुग्ने विश्वास गरिएको छ।
मिनी टिलर प्राप्त गरेका किसानहरूले पनि कृषि यन्त्रले काममा सहजता आउने बताएका छन् । उनीहरूले यसले समय, श्रम र लागतसमेत घटाउने अपेक्षा गरेका छन् ।
गोलन्जोर गाउँपालिकाले कृषि क्षेत्रलाई प्राथमिकतामा राख्दै किसानलाई आधुनिक कृषि प्रविधि तथा उपकरण उपलब्ध गराउने कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ । यसअघि पनि विभिन्न कृषि सामग्री तथा प्रविधि हस्तान्तरण कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाका अनुसार कृषि उत्पादन वृद्धि गर्न र किसानलाई आत्मनिर्भर बनाउने लक्ष्यका साथ यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइनेछ। स्थानीय किसानको आयआर्जन वृद्धि तथा कृषि क्षेत्रको विकासका लागि सहकारी संस्था र स्थानीय तहबीच सहकार्य गर्दै कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ ।