शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

रास्वपाले समानुपातिक सांसदका लागि ५७ जनाको नाम सिफारिस

आइतवार , चैत्र १, २०८२

काठमाडौँ, — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिकतर्फ सांसदका लागि ५७ जनाको नाम सिफारिस गरेको छ । आइतबार बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले नामावली टुङ्ग्याएर निर्वाचन आयोगमा बुझाउने निर्णय गरेको हो ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टीका प्रवक्ता मनिष झाले तोकिएको समयसीमाभित्रै ५७ जनाको सूची निर्वाचन आयोगमा बुझाइने जानकारी दिनुभयो । उहाँका अनुसार समानुपातिकतर्फ सिफारिस गरिएका मध्ये ४८ जना महिला र ९ जना पुरुष रहेका छन् ।

सिफारिस गरिएको सूचीमा विभिन्न समावेशी क्लस्टरलाई आधार बनाइएको छ । जसअनुसार खसआर्यबाट १७ जना, जनजातिबाट १६ जना, दलितबाट ८ जना, मधेसीबाट ९ जना, मुस्लिमबाट ३ जना र थारूबाट ५ जना समावेश गरिएको छ ।

प्रवक्ता झाले पार्टीले आयोगमा बुझाएको नामावली तत्काल सार्वजनिक नगर्ने बताउनुभयो । उहाँका अनुसार निर्वाचन आयोगले कानुनी प्रक्रिया अनुसार नामावली रुजु र प्रमाणीकरण गरेपछि मात्रै आधिकारिक रूपमा सार्वजनिक गर्नेछ ।

रास्वपाले सिफारिस गरेका नामहरू आयोगले स्वीकृत नगरेसम्म प्रस्तावित सूची मात्र हुने भएकाले अहिले नै सार्वजनिक नगरेको उहाँको भनाइ छ ।

यसैबीच, बैठकले निर्वाचन सफलतापूर्वक सम्पन्न गराउन भूमिका खेलेको भन्दै सरकार, सुरक्षा निकाय तथा निर्वाचनमा खटिएका कर्मचारीलाई धन्यवाद दिने निर्णय गरेको छ । साथै, अस्वस्थ रहनुभएका पार्टी सभापति रवि लामिछाने लगायत नेताहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्ने निर्णय पनि बैठकले गरेको छ ।

प्रतिक्रिया