शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

कांग्रेसले टुङ्ग्यायो समानुपातिकतर्फका २० सांसद

आइतवार , चैत्र १, २०८२

काठमाडौँ,— नेपाली कांग्रेसले प्रतिनिधिसभाको समानुपातिकतर्फका २० जना सांसदको नाम टुङ्ग्याएको छ । आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकले समानुपातिक सांसदको नामावली अन्तिम गरेको हो ।

कांग्रेसका प्रवक्ता देवराज चालिसेका अनुसार संविधानले सङ्घीय संसद्मा कम्तीमा ३३ प्रतिशत महिला प्रतिनिधित्व अनिवार्य गरेको व्यवस्था अनुसार समानुपातिकतर्फ चयन गरिएका २० सांसदमध्ये १५ जना महिला रहेका छन् । बाँकी सांसदहरूलाई विभिन्न समावेशी क्लस्टर मिलाएर चयन गरिएको उनले जानकारी दिए ।

उनका अनुसार आदिवासी जनजाति र खसआर्य समुदायबाट समान रूपमा ६/६ जना चयन गरिएको छ । त्यसैगरी थारू, दलित, मधेसी, मुस्लिम तथा पिछडिएको क्षेत्रको प्रतिनिधित्वसमेत सुनिश्चित गर्दै बाँकी सांसदको चयन गरिएको बताइएको छ ।

प्रवक्ता चालिसेले समानुपातिक सांसदको चयन पार्टीको बन्दसूचीका आधारमा गरिएको स्पष्ट पारे । उनका अनुसार अन्तिम गरिएको नामावली आइतबार नै निर्वाचन आयोगमा बुझाइने छ । आयोगले रुजु प्रक्रिया पूरा गरेपछि मात्र चयन भएका सांसदहरूको नाम सार्वजनिक गरिने उनले बताए ।

यसैबीच, प्रतिनिधिसभा निर्वाचनको समग्र समीक्षा गर्न नेपाली कांग्रेसले चाँडै केन्द्रीय कार्यसमितिको बैठक बोलाउने तयारीसमेत गरेको जनाएको छ । बैठकले निर्वाचन परिणाम, पार्टीको आगामी रणनीति तथा संगठनात्मक सुधारका विषयमा छलफल गर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया