शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

२५ दल मिल्दा पनि १७ सिटमै सीमित : ‘ठूलो गठबन्धन’ सानो परिणाम

मंगलवार , फाल्गुण २६, २०८२

काठमाडौँ — चुनावअघि ठूलो घोषणा गरिएको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) गठबन्धनको परिणाम भने अपेक्षाभन्दा निकै सानो देखिएको छ। माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल समाजवादीसहित २५ दल र समूहलाई समेटेर बनाइएको नेकपा प्रतिनिधिसभा निर्वाचनमा बढीमा १७ सिटमै सीमित हुने अवस्था देखिएको छ।

२०७९ सालको निर्वाचनमा माओवादी र एकीकृत समाजवादी मिलेर ४२ सिट जितेका थिए। तर यसपटक धेरै दल जोडेर बनाइएको नेकपाले भने त्यसको आधाभन्दा पनि कम सिट पाउने संकेत देखिएको छ।

नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ भने रुकुम पूर्वबाट सहजै निर्वाचित भएका छन्। जितको प्रमाणपत्र बुझेको भोलिपल्टै हेलिकप्टर चार्टर गरेर उनी काठमाडौं फर्किएका छन्। तर सहसंयोजक माधवकुमार नेपाल भने रौतहट–१ बाट चौथो स्थानमा पुगेका छन् ।

रुकुम पूर्वबाट प्रचण्ड र रोल्पाबाट वर्षमान पुनबाहेक नेकपाका धेरै वरिष्ठ नेताले पराजय भोग्नुपरेको छ। चुनावअघि ‘कम्तिमा ४२ सिट जोगाउने’ लक्ष्यसहित २५ दललाई एउटै छातामुनि ल्याइएको थियो। तर मतदाताले भने त्यो अंकगणितलाई स्वीकार नगरेको देखिएको छ।

अहिलेसम्मको मतगणनाअनुसार नेकपाले प्रत्यक्षतर्फ ७ सिट जितिसकेको छ भने धनुषा–१ को परिणामअनुसार ८ सिट पुग्ने देखिएको छ। समानुपातिकतर्फको गणनाअनुसार करिब ९ सिट आउने अनुमान गरिएको छ। यसरी जम्मा गरेर पनि १७ सिटभन्दा माथि पुग्ने सम्भावना कमजोर देखिएको छ।

चुनावअघि सहसंयोजक माधवकुमार नेपालले ‘जति दल आउँछन् सबैलाई समेट्ने’ रणनीति अपनाउँदै २५ दललाई नेकपामा मिसाएका थिए। तर धेरै दल जोड्दा मत पनि त्यत्तिकै बढ्छ भन्ने गणित भने मतपेटिकामा आएर नमिलेको देखिएको छ।

राजनीतिक विश्लेषकहरूका अनुसार “दल थप्दै जाँदा शक्ति बढ्छ भन्ने सोच” यसपटक उल्टो साबित भएको छ। चुनावी परिणामले संख्या होइन, मतदाताको विश्वास नै निर्णायक हुने सन्देश दिएको टिप्पणी हुन थालेको छ।

प्रतिक्रिया