सिन्धुली,१८ फागुन — सिन्धुली जिल्ला क्षेत्र नम्बर २ अन्तर्गत घ्याङ्लेख गाउँपालिकाका २० जना युवाहरू नेपाली कम्युनिष्ट पार्टी परित्याग गर्दै नेकपा (एमाले) मा पार्टी प्रवेश गरेका छन् । नवप्रवेशी युवाहरूलाई नेकपा एमाले सिन्धुली क्षेत्र नम्बर २ का उम्मेदवार मनोजजंग थापा तथा नेशनल भोलिन्टियर फोर्सका केन्द्रीय कमाण्डर पुष्पराज श्रेष्ठले खादा र माला लगाएर स्वागत गरेका थिए । चुनाव नजिकिँदै जाँदा युवाहरूको एमालेप्रतिको आकर्षण बढ्दै गएको भन्दै स्थानीय राजनीतिक माहोल समेत तातेको छ ।
सो अवसरमा उम्मेदवार थापाले देशको विकास, समृद्धि र स्थायित्वका लागि युवाहरूको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै युवाहरूको चाहना र अपेक्षालाई नेकपा एमालेले सदैव सम्मान गर्ने बताएका छन् । उनले विगतमा एमाले सरकारले अघि सारेका विकासका योजनाहरू र सुशासनको अभ्यासका कारण युवाहरूको विश्वास पार्टीप्रति बढेको दाबी गरे । “आज युवाहरूले स्वतःस्फूर्त रूपमा एमाले रोज्नु परिवर्तन र विकासप्रतिको विश्वासको संकेत हो,।” उनले भने, “अब हामी सबै मिलेर क्षेत्रको विकास, रोजगारी सिर्जना र सुशासन स्थापनाका लागि अघि बढ्नुपर्छ ।” उनले आगामी निर्वाचनमा सूर्य चिन्हमा मतदान गरेर समृद्ध नेपालको यात्रालाई बलियो बनाउन सबैलाई आग्रह समेत गरे ।
कार्यक्रममा नेशनल भोलिन्टियर फोर्सका केन्द्रीय कमाण्डर पुष्पराज श्रेष्ठले नवप्रवेशी युवाहरूलाई संगठनमा उचित जिम्मेवारी दिई व्यवस्थापन गरिने बताएका छन् । उनले युवाशक्तिलाई संगठनात्मक रूपमा परिचालन गर्दै समाजसेवा, जनजागरण र विकासका अभियानमा सक्रिय बनाइने बताए । “नेशनल भोलिन्टियर फोर्सले अनुशासन, सेवा र संगठनलाई प्राथमिकतामा राखेर काम गर्दै आएको छ,” उनले भने, “आज पार्टीमा प्रवेश गर्नुभएका सम्पूर्ण युवाहरूलाई हार्दिक बधाई तथा स्वागत गर्दछु, तपाईंहरूको ऊर्जा र प्रतिबद्धताले संगठनलाई अझ सशक्त बनाउनेछ ।”
यसैगरी नवप्रवेशी युवाहरूले देशको समृद्धि, स्थायित्व र विकासको स्पष्ट दृष्टिकोण नेकपा एमालेसँग मात्रै भएकाले आफूहरू पार्टीमा प्रवेश गरेको बताएका छन् । उनीहरूले एमालेले युवाहरूलाई अवसर, सम्मान र जिम्मेवारी दिने विश्वास व्यक्त गर्दै आगामी निर्वाचनमा पार्टीलाई जिताउन सक्रिय रूपमा लाग्ने प्रतिबद्धता जनाएका छन् ।
प्रतिनिधिसभा निर्वाचनको नजिकिँदै गर्दा विभिन्न राजनीतिक दलका कार्यकर्ता तथा युवाहरू एमालेमा प्रवेश गर्ने क्रम बढिरहेको एमालेका नेताहरूले बताएका छन् । यसले क्षेत्र नम्बर २ मा एमालेको संगठनात्मक आधार अझ मजबुत बन्दै गएको उनीहरूको भनाइ छ ।